नेपाली कांग्रेसको कोशी प्रदेश नेतृत्वका लागि प्रतिस्पर्धाको तयारी सुरु भएको छ।
प्रदेश सभापतिको एउटा पदमा वर्तमान नेतृत्वलाई निरन्तरता दिनेदेखि नयाँ अनुहारलाई जिम्मेवारी दिने विकल्पसम्ममा नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्।
प्रदेश सभापतिका लागि मात्रै आधा दर्जनभन्दा बढी नेताको नाम चर्चामा छ। महामन्त्रीका दुई पदमा पनि उत्तिकै आकांक्षी देखिएका छन्। केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि प्रदेश र जिल्ला तहको नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने भएकाले नेताहरूले अहिलेबाटै आफ्नो पक्षमा समर्थन जुटाउन थालेका हुन्।
प्रदेश अधिवेशनको मिति भने तय भइसकेको छैन। कांग्रेस कोशी उपसभापति रमेशजंग रायामाझीका अनुसार मंसिरको दोस्रो वा तेस्रो सातातिर अधिवेशन हुन सक्ने सम्भावना छ।
मिति निश्चित नभए पनि नेतृत्वका आकांक्षीहरू भने सार्वजनिक रूपमै आफ्नो दाबी राख्न थालेका छन्।
प्रदेश सभापतिका लागि वर्तमान सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायामाझी, मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो र धनकुटा कांग्रेसका सभापति दिनेश राईको नाम चर्चामा छ।
वर्तमान सभापति उद्धव थापाले पुनः नेतृत्वमा दोहोरिने वा नदोहोरिनेबारे अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि उनीनिकट नेताहरूले अर्को कार्यकाल पनि सभापतिको जिम्मेवारी सम्हाल्ने चाहना रहेको बताउने गरेका छन्।
उपसभापति रमेशजंग रायामाझीले भने आफ्नो दाबीलाई स्वाभाविक दाबीका रूपमा प्रस्तुत गरेका छन्। प्रदेश कार्यसमितिमा उपसभापतिको जिम्मेवारी निर्वाह गरिसकेकाले अब नेतृत्व सम्हाल्न चाहेको उनको भनाइ छ।
‘म त निर्विरोध हुनुपर्छ भन्नेमा छु। उपसभापतिका रूपमा जिम्मेवारी निर्वाह गरेको छु। अब स्वाभाविक रूपमा प्रदेश पार्टीको नेतृत्वमा मेरो दाबी छ,’ राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतासमेत रहिसकेका रायामाझीले भने।
मोरङ कांग्रेसको नेतृत्वमा दुई कार्यकाल बिताएका डिकबहादुर लिम्बूले पनि प्रदेश सभापतिका लागि आफ्नो दाबी अघि सारेका छन्। संघीय सांसद र मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका उनी अब प्रदेश संगठनको नेतृत्वमा केन्द्रित हुन चाहन्छन्।
जिल्ला सभापतिका रूपमा थप कार्यकाल बिताउन नपाउने अवस्था रहेकाले प्रदेश नेतृत्व आफ्नो स्वाभाविक गन्तव्य भएको लिम्बू बताउँछन्।
‘अब जिल्ला सभापति बन्न नपाउने अवस्था भएपछि मेरो जाने ठाउँ प्रदेश हो भनेको छु,’ उनले भने, ‘भूगोलका हिसाबले पनि यो जिम्मेवारी उपयुक्त भएकाले पहिलो प्राथमिकता संगठन सुदृढीकरणलाई दिनेछु।’
लिम्बूले प्रदेश सभापति भए केन्द्रले तय गरेका नीति, कार्यक्रम र अभियानलाई गाउँ तथा वडा तहसम्म पुर्याउने कामलाई प्राथमिकता दिने बताएका छन्।
उनका अनुसार कांग्रेसले केन्द्रबाट निर्णय गरे पनि त्यसको जानकारी र कार्यान्वयन तल्लो तहसम्म प्रभावकारी रूपमा पुग्न सकेको छैन।
‘केन्द्रबाट पारित भएका नीति तथा कार्यक्रम तल्लो तहसम्म पुगेनन् भने जनताले कांग्रेसको नीति के हो, अभियान के हो भन्ने थाहा पाउँदैनन्। त्यसैले केन्द्रले तय गरेका नीति तथा कार्यक्रमलाई तल्लो तहसम्म पुर्याउनु मेरो प्राथमिकता हुनेछ,’ उनले भने।
उनले कोशी प्रदेशको राजनीतिक परिवेशअनुसार समावेशिता र पहिचानका मुद्दालाई पनि संगठनात्मक कामसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका छन्।
प्रदेश सभापतिका अर्का दाबेदार वर्तमान महामन्त्री उमेश थापा हुन्। प्रदेश कार्यसमिति गठन भएयता महामन्त्रीको जिम्मेवारीमा रहेका थापाले आफ्नो कार्यकालमा संगठन विस्तार, प्रदेश कार्यालय निर्माण र निर्वाचनमा पार्टीको अवस्था सुधारका लागि काम गरेको दाबी गरेका छन्।
‘म साढे चार–पाँच वर्षदेखि महामन्त्रीका रूपमा काम गरिरहेको छु। प्रदेश कार्यसमिति पहिलोपटक गठन हुँदा हामीले आफ्नै जग्गा किनेर भवन बनायौँ। त्यसपछि प्रदेशभर संगठन विस्तार गर्यौँ। कांग्रेसलाई प्रदेशमा दोस्रो ठूलो दल बनाउन सफल भयौँ,’ थापाले भने, ‘त्यसैले मेरो नेतृत्वमा स्वाभाविक रूपमा दाबी रहनेछ।’
उर्लाबारी नगरपालिकाका पूर्वप्रमुखसमेत रहेका प्रदेश सहमहामन्त्री खड्ग फागोले पनि सभापतिको प्रतिस्पर्धाका लागि आफू लामो समयदेखि तयार रहेको बताएका छन्। उनका अनुसार प्रदेश नेतृत्वका लागि उम्मेदवारी दिने विषय अहिलेको मात्रै निर्णय होइन।
‘मैले प्रदेश सभापतिमा लड्छु भनेर पहिल्यै भनिसकेको हुँ,’ उनले भने, ‘हाम्रो कुरा पहिलेदेखि नै यही हो।’
मोरङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने मानबहादुर लिम्बू पनि सभापतिका आकांक्षी हुन्। प्रदेश मन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनी प्रदेशसभामा सक्रिय छन्। धनकुटा कांग्रेसका सभापति दिनेश राईले पनि प्रदेश नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। जिल्ला संगठनको नेतृत्व गरिसकेका राईले सामाजिक सञ्जालमार्फत सभापतिमा आफ्नो आकांक्षा सार्वजनिक गरेका छन्। मानबहादुरले पनि आफ्नो चाहना सार्वजनिक गरिसकेका छन्।
महामन्त्रीका दुई पदमा आधा दर्जन आकांक्षी
सभापतिको प्रतिस्पर्धासँगै प्रदेश कार्यसमितिका दुई महामन्त्री पदका लागि पनि नेताहरूले तयारी अघि बढाएका छन्। वर्तमान सहमहामन्त्री विनोद बस्नेत, प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य शमशेर राई, मोरङका नेता मदन संग्रौला र सुनसरीका सुजेन्द्र तामाङ महामन्त्रीका आकांक्षीका रूपमा देखिएका छन्।
उदयपुरका विनोद बस्नेत अहिले प्रदेश कार्यसमितिको सहमहामन्त्री छन्। संगठनभित्रको जिम्मेवारी सम्हाल्दै आएका उनी महामन्त्रीका दाबेदार हुन्।
झापाका गोपाल तामाङ प्रदेशसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक छन्। संसदीय जिम्मेवारीमा रहेका तामाङले पनि प्रदेश कार्यसमितिको महामन्त्री बन्ने आकांक्षा राखेका छन्।
इलामका शमशेर राई पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य हुन्। उनी पनि महामन्त्रीको प्रतिस्पर्धामा छन्। मोरङका मदन संग्रौला र सुनसरीका सुजेन्द्र तामाङले पनि यही पदमा दाबी प्रस्तुत गरेका छन्। तामाङ यसअघि पार्टीको क्षेत्रीय सभापतिको जिम्मेवारीमा थिए।
प्रदेश नेतृत्वको प्रतिस्पर्धामा जिल्ला संगठनको अनुभव, प्रदेश कार्यसमितिमा यसअघि निर्वाह गरेको जिम्मेवारी र संसदीय पृष्ठभूमि भएका नेताहरू देखिएका छन्।