नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेताहरूबीच गुण्डुमा भेटवार्ता भएको छ।
महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर विभिन्न जिल्लाहरूमा विवाद भएको सन्दर्भलाई लिएर भेटवार्ता केन्द्रित थियो।
भेटवार्तामा सहभागी उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार ओखलढुंगा, चितवन, बाँके, बर्दिया, दाङ, सल्यान र डोटीसहित विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विवाद देखा परेको थियो।
यसबारे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित आफूहरूले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको उनको भनाइ छ।
बिहीबार अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष पोखरेल, सचिव योगेश भट्टराई लगायत नेताहरूबीच गुण्डुमा छलफल भएको थियो।
भेटमा ओखलढुंगासहित केही जिल्लामा छनोट भएका प्रतिनिधिलाई संगठन विभागले अस्वीकार गरेको र पुनः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएकोमा वरिष्ठ उपाध्यक्ष पोखरेल सहितका नेताले आपत्ति जनाएका थिए।
‘शंकर पोखरेल निकटहरूले दाङमा एकलौटी गरेका छन्। सल्यानमा होटलमा बसेर प्रतिनिधि चयन गरिएको छ। त्यहाँका सदस्यहरूले उजुरी गरेका छन्। त्यसबारे केही पनि नगर्ने, तर निर्वाचन प्रक्रियाबाट टुंगिइसकेका ठाउँमा पुनः निर्वाचन गर्न निर्देशन पठाइएको छ। आज अध्यक्षलाई यहीबारे ध्यानाकर्षण गराइएको हो,’ भेटवार्तामा सहभागी एक नेताले भने।
ओखलढुंगामा पाँच दिनभित्र निर्वाचन प्रक्रिया सुरू गर्न भने पनि त्यहाँको जिल्ला कमिटीले मतदान प्रक्रिया अघि बढाएको छैन। त्यहाँ १२ जना प्रतिनिधि निर्वाचित भएकामा सबै उपाध्यक्ष पोखरेल पक्षधर थिए। दाङ, सल्यानमा भने महासचिव पोखरेल पक्षधर चुनिएर आएका थिए।
यसैबीच नवगठित नेसनल भोलेन्टियर फोर्सबाट पनि महाधिवेशनमा प्रतिनिधि ल्याइएको भन्दै पोखरेलले आपत्ति जनाएका छन्।
‘महाधिवेशन घोषणा भइसकेपछि बनाइएको जनसंगठनबाट पनि महाधिवेशनका लागि प्रतिनिधि बनाएको अवस्था छ, यो कुनै हालतमा मान्य हुँदैन, यो कुरा अध्यक्षज्यूलाई भेटेर भनेका छौं,’ उपाध्यक्ष पाण्डेले भने।