नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले आज काठमाडौंमा भेला गरेका छन्।
मंसिर १५ गते बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याए पनि उक्त कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशन पक्षले भेला गरेका हुन्।
नियमित महाधिवेशन समयभित्रै नभए विशेष महाधिवेशन गर्ने र त्यसका लागि तयारी जारी राख्नुपर्ने भेलाको निष्कर्ष रहेको नेताहरूले बताएका छन्।
नेता जगदीश्वर नरसिंह केसीले १५ औं महाधिवेशन कार्यतालिका कार्यान्वयन नहुने देखिएको भन्दै आफूहरूले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने बताए।
‘षड्यन्त्रमूलक ढंगले यो कार्यतालिका आएको छ। यो कार्यतालिका पुस १६ गते प्रभावित नहुन सक्छ। १८, २० वा २२ गतेतिर प्रभावित हुन खोज्यो भने विशेष महाधिवेशनलाई जतिखेर पनि क्रियाशील बनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्छ,’ उनले भने, ‘यो कुरा हामीले महामन्त्रीहरूलाई भेटेर भन्नुपर्छ। कार्यतालिका प्रभावित भयो भने पुस २८ गते विशेष महाधिवेशन बस्ने हो।’
ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले विशेष महाधिवेशन हुन नदिन नियमित महाधिवेशन कार्यतालिका आएको बताए।
‘हाम्रो विशेष अधिवेशनको तालिका छँदैछ। त्यो गर्छौं भनेर हामी आत्माविश्वासका साथ अघि बढेका पनि छौं तर वडा अधिवेशनबाट चुनिएर प्रतिनिधि आएपछि हामी आधिकारिक हौं भन्ने हुन्छ। हाम्रो विशेष महाधिवेशनको माग पनि तुहिन्छ । त्यसैकारण मेरो अनुरोध मैले सुरूमै पनि भनेको थिएँ हामीले नियमित भन्न हुँदैन थियो,’ उनले भने।
नेता गुरूराज घिमिरेले नियमित महाधिवेशन कार्यतालिका आएको र कार्यतालिकाअनुसार अधिवेशन अघि बढ्ने वा नबढ्ने हेर्न बाँकी रहेको उल्लेख गरे।
कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए। पुस २८ भित्रै विशेष महाधिवेशन गर्न उनीहरूको माग थियो। केन्द्रीय समिति बैठकले सोही अवधिमा १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको हो।
सभापति शेरबहादुर देउवाले भने कार्यतालिकाअनुसार नियमित महाधिवेशन हुनेमा प्रतिबद्धता जनाएका छन्। आज केही युवा नेताहरूसँग भेट गर्दै सभापति देउवाले नियमित महाधिवेशन हुने भएकोले अब विशेष महाधिवेशनको कुरा गर्न नहुनेमा जोड दिएका थिए।