राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फ शुल्क तिरेर आवेदन दिन नसक्नेहरूलाई पनि आवश्यक कागजातसहित निवेदन दिन भनेको छ।
बिहीबार सूचना प्रकाशित गर्दै मंसिर २२ भित्र पार्टीले तोकेको आवश्यक कागजात, शुल्क तिर्न नसक्नाको वैध कारणसहित आवेदन दिन भनेको सहमहामन्त्री विपीनकुमार आचार्यले भने। प्रतिनिधि सभाको समानुपातिकतर्फ रास्वपाले ५० हजार रूपैयाँ शुल्क तोकेको छ।
‘समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार छनोट प्रक्रियामा उम्मेदवारी दिन इच्छुक विपन्न पार्टी सदस्यहरूको हकमा आवश्यक निर्णय मंसिर २५ गतेभित्र गर्नुपर्ने भएकोले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न असमर्थ रहेका आवेदनकर्ताले पार्टीले माग गरेका आवश्यक कागजातहरू मंसिर २२ गतेभित्र अनिवार्य रूपमा उम्मेदवार छनोट समितिमा बुझाइसक्न अनुरोध गरिन्छ,’ रास्वपाले भनेको छ।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते तोकिएको छ।