नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनमा पार्टीलाई एकताबद्ध लैजाने निष्कर्ष निकालेको भन्दै अहिले उम्मेदवारी घोषणा त्यसको मर्मविपरीत हुने बताएका छन्।
शुक्रबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष बादलले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूको उम्मेदवारी घोषणाले पार्टीलाई विघटन र विसर्जनको बाटोमा लैजानसक्ने बताएका हुन्।
‘एमाले केन्द्रीय कमिटीको बैठकको कोणबाट हेर्दा अहिले उम्मेदवारी घोषणा उपयुक्त होइन, यसले पार्टीलाई विघटन र विसर्जनतिर नै लैजान्छ,’ उनले भने।
उनले प्रतिगामी शक्तिले सिध्याउन खोजेको भन्दै अहिले नेतृत्वको रक्षा गर्नुपर्ने बताए।
वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पंक्तिलाई एकताबद्ध भएर जानुपर्ने बताएको पनि उनले भने।
‘वरिष्ठ उपाध्यक्षले चाहिँले अध्यक्षले अहिले निकास गर्नुपर्छ। नयाँलाई अवसर दिनुपर्छ, पार्टीलाई एकताबद्ध बनाएर लैजानको निम्ति नयाँ नेतृत्व आवश्यक छ, वर्तमान अध्यक्षको कार्यशैली त्यति उपयुक्त, उचित भएन, लोकतान्त्रीकरणको दृष्टिबाट पनि अध्यक्षले निकास दिनुपर्छ भन्ने उहाँ (ईश्वर पोखरेल)को चाहिँ मुख्य तर्क छ,’ उनले भने, ‘उहाँले जहिलेदेखि एमालेको नेतृत्व लिनुभयो, उहाँले पार्टी निर्माणमा के योगदान गर्नुभयो, के नीति अवलम्बन गर्नुभयो, उहाँले अवलम्बन गरेको विचारहरूले नेकपा एमालेलाई कहाँ पुर्यायो त? त्यसको आधारमा मूल्यांकन गर्दा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान खडा गर्नुभएको छ। एमालेलाई लार्जेस्ट, सर्वाधिक लोकप्रिय पार्टी स्थापित गर्न योगदान दिनुभएको छ। चुनावी जनमतको हिसाबले पनि झन्डैझन्डै दोस्रो राष्ट्रिय पार्टी, पहिलो र दोस्रो पार्टीमा खास अन्तर छैन, पार्टीलाई प्रतिगामीहरूले फुटाए पनि झन्डैझन्डै पहिलो हाराहारीकै शक्ति बनाउनुभयो।’
अध्यक्ष ओलीले विकासको अगुवाइ गरेको बताउँदै यस्तो अवस्थामा ओलीको विकल्प खोज्नुनहुने उनले धारणा राखे।
एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। यो महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच नेतृत्वमा प्रतिस्पर्धा हुने देखिएको छ। बाँकी पदमा उम्मेदवारी घोषणा हुन बाँकी छ।