झन्डै ४ करोड खर्चेर बनाइएको तुलसीपुर उपमहानगरपालिकाको प्रशासनिक भवन गत भदौ २४ गते प्रदर्शनकारीहरूले ध्वस्त पारे।
तोडफोड र आगजनीका कारण भवन ध्वस्त भएको छ। दुई वर्षअघि मात्रै उद्घाटन भएको थियो।
उपमहानगरपालिकाले प्रशासनिक काम त्यही भवनबाट गरिरहेको छ।
प्रांगणमै रहेको अर्को साततले ‘तुलसीपुर टावर’ उद्घाटन नहुँदै सम्पूर्ण सिसा फुटाइएका छन्। उक्त टावरका सिसा मात्र जडान गर्न ४० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने प्राविधिकहरूले बताएका छन्।
भविष्यमा सोही टावरमा तोडफोड गरिएका सिसा जडान गरेर त्यहीँबाट तुलसीपुरले प्रशासनिक कामकाज सञ्चालन गर्ने योजना रहेको मेयर टीकाराम खड्काले बताउँदै आएका छन्।
तर त्यसका लागि पुनः टेन्डर आह्वान गर्नुपर्ने अवस्था छ।
जेठ २४ गते तुलसीपुरका दर्जनौँ सवारीसाधन तथा फर्निचरमा आगजनी गरिएको थियो। आगजनीबाट ध्वस्त सबै सवारीसाधन तथा फर्निचर अहिले पनि उपमहानगरपालिकाको प्रांगणमै थुपारिएको छ।
एउटा कुनामा ध्वस्त भएको दमकल राखिएको छ।
शनिबार भने उपमहानगर परिसरमा फरक दृश्य देखियो। आगजनी र तोडफोड भएको त्यही भवनअगाडि एउटा नयाँ दमकल पानीको फोहोरा हानिरहेको थियो।
दमकलले पानी हान्दै गरेको दमकल गाउँपलिका कार्यलयअगाडि देखिएपछि मानिसहरू हेर्न आए।
'धेरैले उपमहानगर आफैले नयाँ दमकल ल्याएछ भन्ने लख काटेका थिए। अस्ति भर्खर त्यस्तो घटना भएको थियो। उपमहानगरले नयाँ दमकल तत्कालै आउने भएछ भन्ने पनि भयो,' एक स्थानीयले भने।
‘सिनो ट्रक’ तुलसीपुरले किनेको नयाँ दमकल थिएन। बरु त्यो झण्डै एक करोड रुपैयाँ हाराहारीको दमकल सुदूरपश्चिम प्रदेश सरकारका लागि खरिद गरिएको थियो।
कम्पनीका दाङ प्रमुख जनक मल्लका अनुसार सुदूरपश्चिमको एउटा पालिकाले खरिद गरेको दमकल तुलसीपुरमा लैजानुअघि क्षमताको परीक्षणका लागि त्यहाँ डेमो प्रदर्शन मात्र गरिएको हो।
खासमा भदौ २४ पछि तुलसीपुर उपमहानगरपालिका दमकलविहीन बनेको छ। भएको एउटै दमकल जलाइएपछि तुलसीपुर यस्तो अवस्थामा पुगेको हो।
हालसम्म पश्चिमका दंगिशरण, शान्तिनगर र बबई गाउँपालिकासँग आफ्नै दमकल छैन। तुलसीपुरसँग भएको एउटै दमकल पनि ‘जेनजी आन्दोलन’ का नाममा आगजनी गरी ध्वस्त पारिएपछि तुलसीपुरसहित पश्चिमका चार पालिका दमकलविहीन भएका छन्।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले जेनजी आन्दोलनका नाममा दमकलसमेत जलाइएपछि आगलागी लगायतका विपद्का समयमा के गर्ने भन्ने अन्योल स्थिति सिर्जना भएको बताए।
'तुलसीपुर उपमहानगरपालिका हो, यसले जनताबाट कर मात्र असुल्ने भन्ने कुरा हुँदैन,' मेयर खड्काले भने,
'विपद्को समयमा जनताको जिउधनको रक्षा गर्नु हाम्रो दायित्व हो। तर अहिले उपमहानगरपालिका दमकलविहीन छ, र तत्काल कुनै विपद् आइपरे राम नाम जप्नुबाहेक केही गर्न सक्ने अवस्था छैन,' उनले भने।
तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत केशवराज पाण्डेले उपमहानगरले दमकल खरिद प्रक्रिया तत्कालै थाले पनि टेन्डरलगायतका प्रक्रिया पूरा गर्दा तीन महिना अघि दमकल प्राप्त हुने अवस्था नरहेको बताए।
'टेन्डर प्रक्रिया पूरा गर्दा कम्तीमा चैत वा वैशाखभन्दा अघि तुलसीपुरमा दमकल आउने सम्भावना छैन,' उनले भने।
मेयर खड्काले जेनजी आन्दोलनका नाममा तुलसीपुर क्षेत्रका सम्पूर्ण सरकारी कार्यालय ध्वस्त पारिएको र त्यसले तुलसीपुरलाई शून्यताको अवस्थामा पुर्याएको बताए।
यद्यपि, तुलसीपुर उपमहानगरपालिका दमकलविहीन अवस्थामा रहे पनि शनिबार सुदूरपश्चिमको एउटा पालिकाले खरिद गरेको दमकल त्यहाँ लैजानुअघि तुलसीपुरमै डेमो प्रदर्शन गर्दा कतिपयले उपमहानगरपालिकाले नयाँ दमकल किनेको ठानेर खुसी व्यक्त गरेको र कतिपयले आफूलाई बधाईसमेत दिएको एक जना कार्यपालिका सदस्यले फोनमार्फत जानकारी दिए।