जनार्दन शर्माको गृहजिल्ला रूकुम पश्चिममा तत्कालीन माओवादी केन्द्रको सम्पत्ति दुई वटा पार्टीमा भागबन्डा गरिएको छ।
विगतमा एउटै पार्टीमा क्रियाशील रहेको र भविष्यमा पनि सहकार्यको सम्भावनालाई मध्यनजर गर्दै नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिम र प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमबीच जिल्ला सदरमुकामस्थित भौतिक संरचना प्रयोग गर्न भागबन्डाको सहमति भएको हो।
जसअनुसार मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँस्थित शहिद स्मृति प्रतिष्ठान र ईस्कन्द नर्मदा
फाउण्डेशन परिसरभित्र रहेका भवन सहितका सम्पूर्ण भौतिक संरचना नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्ने सहमति उनीहरूबीच भएको छ।
साथै मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गास्थित ईस्कन्द नर्मदा स्मृति फाउण्डेशनको नाममा रहेको भवन प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रयोग गर्ने सहमति भएको हो। यो सम्झौता मिति आजदेखि नै लागू हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमका संयोजक गोर्खबहादुर केसी र नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमका संयोजक गोविन्द रोकाबीच सहमति भएको हो। यो सहमति गर्दा शैलेशकुमार शर्मा, धनबहादुर खड्कालाई रोहबरमा राखिएको थियो।