पश्चिम अफ्रिकी मुलुक बेनिनको सेनाले सत्ता कब्जाको घोषणा गरेको छ।
बेनिनको सेनाको समूह 'मिलिटरी कमिटी फर रिफाउन्डेसन'ले सरकारी टेलभिजनमार्फत सम्बोधन गर्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार टेलिभिजन सम्बोधन मार्फत सेनाले संविधान र सम्पूर्ण राज्य संस्थाहरू विघटन भएको घोषणा गरेको छ।
उनीहरूले नयाँ युग सुरू भएको दाबी गरेका छन्।
सैनिकहरूले राष्ट्रपति पाट्रिस टालोनलाई पदबाट हटाइएको र सबै राजनीतिक दलका गतिविधि तत्कालका लागि स्थगित गरिएको पनि घोषणा गरेका छन्।
यस घटनाप्रति सरकारका तर्फबाट तत्काल औपचारिक प्रतिक्रिया आएको छैन।
रोयटर्सका अनुसार निर्वाचन घोषणा भइसकेको अवस्थामा बेनिनमा सैन्य कू घोषणा भएको हो।
बेनिनमा आगामी अप्रिलमा राष्ट्रपति निर्वाचन हुने तय थियो।
अर्को अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी)का अनुसार टालोन सन् २०१६ देखि सत्तामा छन्। उनी दुई कार्यकालपछि पद छोड्ने तयारीमा थिए। सत्तारूढ गठबन्धनले अर्थमन्त्री रोमुअल्ड वाडाग्नीलाई राष्ट्रपति उम्मेदवार बनाएको थियो।
टालोनले दुई कार्यकालपछि स्वेच्छाले पद छाड्ने निर्णयलाई पश्चिम र मध्य अफ्रिकामा दुर्लभ लोकतान्त्रिक अभ्यासको रूपमा हेरिँदै आएको थियो।
सेनाको एउटा समूहले सत्ता कब्जा गरेको घोषणा गरे पनि अर्को समूह भने अहिलेकै सरकारको पक्षमा रहेको भनिएको छ।
विदेशमन्त्री शेगुन अदजादी बाकारीले यसलाई पूर्ण रूपमा सैन्य कू भन्न नमिल्ने भनेका छन्। उनले “पूर्ण कुह होइन, प्रयास मात्र” भएको दाबी गरेका छन्।
उनले नियमित सेनाका केही हिस्सा राष्ट्रपति पक्षमा रहेको र स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको बताएका छन्।
अहिले बेनिनमा अवस्था तनावपूर्ण छ र वास्तविक सत्ता कसको नियन्त्रणमा छ भन्नेबारे स्पष्ट तस्बिर नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पश्चिम अफ्रिकामा सैन्य कू भएको यो दोस्रो घटना हो। दस दिनअघि गिनी-बिसाउ सैन्य कू भएको थियो।