नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित पार्टीका केही सर्वोच्च अदालत गएको खबर आफूलाई नौलो लागेको प्रतिक्रिया दिएका छन्।
फागुन २१ को आमचुनावमा भाग लिने केन्द्रीय समितिबाट निर्णय भए पनि कांग्रेसका प्रमुख सचेतक र सचेतकसहित ८ जना निवर्तमान सांसदहरू आज सर्वोच्चमा रिट लिएर गएका थिए।
यसपछि सेतोपाटीसँग कुराकानी गर्दै नेता कोइरालाले यसबारे आफूलाई केही थाहा नभएको बताए।
‘म आज काठमाडौं बाहिर छु। आजको बारेमा मलाई केही आइडिया छैन,’ कोइरालाले भने, ‘यो कुरा मेरा लागि पनि नौलो समाचार भयो।’
सर्वोच्च जानेबारे पार्टीमा केही छलफल भएको थियो कि भन्ने प्रश्नमा कोइरालाले पदाधिकारीहरूबीच भएको भए आफूले थाहा नपाएको तर आफूसँग कुनै कुरा नभएको पनि बताए।
‘पदाधिकारीहरू बीचमा छलफल भयो होला, मसँग केही भएको छैन,’ उनले भने ‘अस्ति हस्ताक्षर संकलन भएको कुरा चाहिँ सबैलाई थाहै छ। आजका बारे मलाई केही आइडिया भएन।’