नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा चुनाव गराउन इच्छुक नभएको हो कि भन्ने शंका लाग्न थालेको बताएका छन्।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न नदिने विषय उठाएर सरकारको नियतमाथि शंका व्यक्त गरेका हुन्।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ को निर्वाचनमा भाग लिने भनेर निर्णय गरिसकेको छ। हामीले चुनावमा भाग लिने भनेका छौं,’ कोइरालाले भने, ‘तर, शान्ति सुरक्षा त सरकारले मेन्टेन गर्न पर्यो नि! ५ हजार कैदी अझै फरार नै छन्। लुटिएको हतियार फिर्ता भएको छैन। एउटा पार्टीको अध्यक्षलाई भ्याली नछोड्न भनिएको छ। यस्तो अवस्थामा कसरी चुनाव हुन्छ भन्ने? मलाई त सरकार नै इच्छुक छ कि छैन भन्ने डर लाग्न थालेको छ।’
कांग्रेस महाधिवेशन निर्वाचन अगाडि नै हुने र नयाँ कार्यसमितिले चुनावको टिकट बाँड्ने बताएका कोइरालाले अझै आशंका प्रकट गर्दै सोधे ‘कांग्रेसमा नयाँ कार्यसमितिले टिकट बाँड्छ। तर, प्रश्न छ चुनाव कहिले हुन्छ? म त चुनाव हुने कुरामा विश्वस्त हुनुपर्छ भन्छु। तर, सरकारले कस्तो चुनाव गराउन खोजेको हो? नेताहरूलाई स्थानहद लगाइएको छ।’
भदौ २३ र २४ को जेनजी प्रदर्शनमा सरकारले चरम दमन गरेको थियो। त्यसक्रममा देशका विभिन्न जिल्लामा गरी ७६ जनाको ज्यान गएको थियो। तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।
त्यसबेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रहेका रमेश लेखकलाई गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले उपत्यका छाड्न रोक लगाएको छ। ओलीले आयोगमा बयान दिन नजाने बताउँदै आएका छन्। आयोगले ओली र लेखकलाई आउँदो साता बयानका लागि बोलाउने तयारी गरेको छ।
यसरी छानबिन आयोगले ओलीमाथि लगाएको स्थानहदले निर्वाचन हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको कोइरालाको भनाइ छ।
निर्धारित मितिमा निर्वाचन सम्पन्न नभए विघटित संसद पुनःस्थापनाको माग अघि बढेर जाने पनि कोइरालाले बताएका छन्।
‘चुनाव नहुने हो भने संसद पुनर्स्थापनाको माग अघि बढेर जान्छ,’ उनको भनाइ थियो, ‘अहिले पनि संविधान केही डिरेल भएकै छ। चुनाव भएन, संविधान झनै डिरेल हुन थाल्यो भने के अवस्था आउने हो देशको?’