नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि रातैभरि मतदान भएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी ११ औं महाधिवेशनमा नेतृत्व छान्न मतदान भइरहेको हो।
उपमहासचिवका प्रत्यासी योगेश भट्टराईका अनुसार २२६३ कूल मतदातामध्ये बिहीबार बिहान ३ः०० बजेसम्म १८०० बढी मत खसिसकेको छ। अब झण्डै ४०० हाराहारी मत खसेको छ।
नयाँ नेतृत्व छान्न उत्साहित मतदाता रातैभरि जाग्राम बसेर मतदान प्रक्रियामा भाग लिएका थिए। बुधबार साँझ टोकन लिएका मतदाता पनि मतदान स्थल नछाडी मत हालेका थिए।
निर्वाचन समितिले बिहान ५ बजेभित्र मत हाल्न बाँकी रहेको प्रतिनिधिलाई मतदान स्थल प्रवेश गर्न सूचना जारी गरेको छ। बिहान ५ः०० बजेभित्र भृकुटीमण्डपस्थित केन्द्र प्रवेश गरेका प्रतिनिधिले मत हाल्न पाउनेछन्। यद्यपि एमाले निर्वाचन आयोगले कसैलाई नछुटाउने नीति लिएको छ।
एमालेमा विद्युतीय उपकरणमार्फत् मतदान भइरहेको छ। ८० वटा उपकरण प्रयोग गरी बुधबार बिहान ९ः१२ बजेदेखि मतदान भइरहे पनि प्रतिनिधिहरूले मत हाल्न ढिला गरेका कारण समय लम्बिएको हो। प्राविधिक लक्ष्मण रिमालका अनुसार भोट हाल्न औसत ४० मिनेट हाराहारी लागेको छ। शीर्ष नेताहरूलाई नै मत हाल्न एक घन्टा बढी समय लागेको थियो।
घटीमा ९ मिनेर र बढीमा २ घन्टा ३० मिनेटसम्म पनि मतदान गर्न समय लागेको रिमालले बताए। प्रतिनिधिहरूले हातहातमा उम्मेदवारहरूले बाँडेका चिट बोकेर मतदानस्थल प्रवेश गरेकाले मत हाल्न ढिला भएको हो। दुवै पक्षले यथेष्ट मात्रामा चिट बाँडिरहेका छन्।
एमालेको नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित मैदानमा छन्। ३०१ केन्द्रीय सदस्य, आयोग अध्यक्षसहित ३५० पदका लागि ६२२ जना उम्मेदवार मैदानमा छन्।
यही हिसाबले बिहान ७ बजेसम्म मतदान गर्न लाग्ने र मतदान सकिएपछि तुरून्तै गणना प्रारम्भ हुने निर्वाचन आयोगले जानकारी दिएको छ। विद्युतीय उपकरणमार्फत् भोटिङ भएकाले परिणाम भने तुलनात्मकरूपमा छिटो आउने छ।