श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको कार्यभार पनि दिने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको कार्यभार दिएका हुन्।
सरकारले मंसिर २६ गते भण्डारीलाई श्रम मन्त्रीको जिम्मेवारी दिएको थियो।
उनी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन्।
नेपाल प्रहरीले गम्भीर प्रकृतिका अपराधलाई विशिष्टीकृत ढंगले अनुसन्धान गर्न २०६७ सालमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गठन गरेको थियो।
फौजदारीदेखि वित्तीय अपराधसम्मका मामिलामा छुट्टै टिमबाट अनुसन्धान गराउनुपर्ने आवश्यकता महसुस गरेर नेपाल प्रहरीले विशिष्टीकृत इकाईका रूपमा उक्त ब्युरो गठन गरेको थियो। भण्डारी त्यसका संस्थापक प्रमुख थिए।
उनले २०६७ साउन १ देखि २०६८ भदौ ८ गतेसम्म उक्त ब्युरो प्रमुखका रूपमा काम गरेका थिए। त्यति बेला ब्युरोको जिम्मेवारीमा आएका अनुसन्धान कार्य फत्ते गराउन भण्डारीको भूमिका महत्त्वपूर्ण थियो।
