निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्न नसकिने बताएका छन्।
सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा आज भएको छलफलमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक उम्मेदवार बन्द सूची बुझाउने समय केही सार्न प्रस्ताव गरेकोमा जबाफ दिँदै भण्डारीले कार्यतालिका हेरफेर गर्न सकिँदैन भनेका हुन्।
‘यदि समानुपातिकको बन्द सूची पेस गर्ने समय सारियो भने परसम्मको समय धक्का लाग्छ,’ उनले भने, ‘निर्वाचनको मिति घोषणापछि मतदाता नामावली दर्ताको समय थप्यौं। कर्मचारी १५ देखि २० दिन सुत्न पाएनन्। अर्को जनशक्तिबाट सम्भव छैन। विधि र प्रक्रिया जानेको मानिस चाहिन्छ। खेलको नियम सुरु भएपछि तालिका परिवर्तन नगरौं।’