काठमाडौं महानगरपालिका मेयर बालेन शाहले भदौ २३ र २४ को जेनजी आन्दोलन क्रममा भएका घटनाबारे सोमबार राष्ट्रिय मानवअधिकार आयोग पुगेर बयान दिएका छन्।
मेयर शाहले ती दुई दिन सामाजिक सञ्जालमा लेखेका स्ट्याटसदेखि घटना अवधिभर उनको गतिविधिबारे सोधपुछ गरेको आयोग स्रोतले बताएको छ।
मानवअधिकार आयोगले मेयर शाहसँग बयान लिएपछि हामीले भदौ २३ र २४ का घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पनि उनीसँग बयान लिन्छ कि लिँदैन भनेर सोधेका छौं।
आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्मालाई हामीले सोध्यौं, 'काठमाडौं महानगरका मेयर बालेन शाहलाई मानवअधिकार आयोगले बयान लिएको रहेछ, जाँचबुझ आयोगको के छ तयारी?'
जबाफमा उनले भने, 'अहिले आवश्यकता महसुस भएको छैन।'
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी गरेको छ। उनीहरूलाई दुई-तीन दिनको म्याद दिने गरी चिठी पठाउने तयारी गरेको प्रवक्ता शर्माले जानकारी दिए।
यसबीच मानवअधिकार आयोगले पनि जेनजी आन्दोलनबारे अनुसन्धान अगाडि बढाइरहेको प्रवक्ता टीकाराम पोखरेलले बताएका छन्।
'आयोगले यसका लागि एउटा अनुसन्धान टिम बनाएको छ। उनीहरूले आवश्यकताअनुसार सबैलाई बोलाएर अनुसन्धान गरिरहेको छ,' उनले भने।
त्यही क्रममा मेयर शाह बयानका लागि आएको आयोगको एक उच्च अधिकारीले बताए।
'घटना छानबिनबारे मेयर शाहलाई बोलाइएको थियो, आज आएर बयान दिनुभएको छ,' स्रोतले सेतोपाटीसँग भन्यो।