नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा सम्मानजनक व्यवहार नभए अप्रिय र नोक्सानदायी परिणाम भोग्न बाध्य हुनुपर्ने बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमा लामो स्ट्याटस राख्दै ११ औं महाधिवेशनका प्रत्यासीसमेत रहेका पोखरेलले महाधिवेशनले एउटा निष्कर्ष दिइसकेको र त्यसलाई पालना गर्नु सबैको कर्तव्य भएको बताएका छन्।
तर नेतृत्वबाट सबैले आत्मसमर्पण नभई समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गर्ने धारणा राखेका छन्।
‘नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ। सम्मानजनक व्यवहार नहुँदा अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र?,’ उनले प्रश्न गरेका छन्।
रूपान्तपणका लागि निरन्तर बह, छलफल, आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा पाखा नहुने कुराको सुनिश्चितता, विभाजनको दुर्भाग्यपूर्ण कुराको दृढतापूर्वक विरोध नै अहिलेको आवश्यकता भएको उनको बुझाइ छ।
‘महाधिवेशनमा नेतृत्व चयनमा समूह/समूह रहे पनि सम्बद्ध सबैलाई यिनै कुराबाट निर्देशित हुने/निर्देशित गर्नुपर्ने अहिलेको आवश्यकता हो। कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्याउने विषय नभएर नोक्सान मात्र पुर्याउने विषय हुन्। अनावश्यक तरंगित नबनौं,’ उनको आग्रह छ।
पोखरेलले विधि र प्रक्रियाअनुसार गरिएका÷भएका संस्थागत निर्णयहरूको निशर्त पालना अहिलेको आवश्यकता भएको बताएका छन्।
‘पार्टी एकतालाई मजबुत बनाउन सबैबाट त्यसै अनुसारको व्यवहार, पार्टीलाई विभाजित बनाउने कुराको सख्त विरो। सँगसगै सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको पक्षपोषण। यिनै कुराका आधारमा पार्टी नेतृत्वको प्रतिरक्षा हुन्छ। सबै षडयन्त्रहरूलाई पराजित गर्न सकिन्छ र नेकपा एमालेलाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउन सम्भव हुने छ,’ उनले बताएका छन्।