काठमाडौं महानगरपालिका नगर शिक्षा समितिले अनुगमनका क्रममा फिल्डमा नदेखिएका १०७ विद्यालयलाई सम्पर्कमा आउन भनेको छ।
समितिको गत साउन २८ गतेको निर्णय बमोजिम विगतमा अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीका लागि ताकेता गरेको हो।
अनुगमनका क्रममा १०७ विद्यालय फिल्डमा नदेखिएको समितिले जनाएको छ।
‘शिक्षा विभागले स्थलगत रूपमा अनुगमन, रुजु, यकिन गरी अनुमति खारेजीका सम्बन्धमा आवश्यक निर्णय हुन कार्यपालिकामा पेस गर्ने निर्णय भएको छ। महानगरपालिकाको शिक्षा विभागबाट विभिन्न समयमा भएको स्थलगत अनुगमनका क्रममा काठमाडौं महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचना साथ संलग्न सूचीमा उल्लेख भएका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा नरहेको र नदेखिएको प्रतिवेदन प्राप्त भएको छ,’ महानगरले भनेको छ।
वेबसाइटमा प्रकाशित सूची बमोजिमका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक/सञ्चालक/व्यवस्थापक र गुठीयारले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र काठमाडौं महानगरपालिका शिक्षा विभाग, कमलादीमा सम्पर्क गरी सोको पुष्टि गर्न भनेको छ।
अन्यथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने पनि महानगरले बताएको छ।