जेन–जी आन्दोलनका नाममा निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीहरूमाथि कडा कारबाहीको माग गरेकी छन्।
लामो उपचारपछि स्वास्थ्य लाभ गर्दै आएकी चित्रकारले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै जेनजीको अबोध मुखुण्डो लगाएर देश विध्वंश गर्नेहरूलाई सरकारले छिट्टै पहिचान गरी सजाय दिनुपर्ने बताएकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चित्रकारले जेनजीको अबोधपनको मुखुण्डो ओढेर देशलाई नष्ट गरिएको बताइन्। सरकारले उनीहरूलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरिन्।
उनले भनिन्, ‘मैले किताबमा पढेको थिएँ, हिटलरको ग्यास च्याम्बर। त्यो ग्यास च्याम्बरमा म आफै परेँ र आज यो गति भयो। जेनजी भाइबहिनीहरूको अबोधपनको मखुण्डो ओढेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरूलाई यो सरकारले छिट्टै चिनेर कारबाही गर्नुपर्छ। मेरो यही माग छ।’
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको बताए।
उपचारको प्रक्रिया अझ अघि बढाउनुपर्ने आवश्यकता रहेको तर उपचारका लागि केही नभएको उनले बताए। घरसहित सबै जलाएर नष्ट गरिदिएपछि उपचारमा समस्या हुने उनले बताए।
उनले भने, ‘हामीले अझ धेरै गर्न बाँकी नै छ। त्यो पनि उपचारकै प्रक्रिया हो। त्यो उपचारको प्रक्रियालाई अझै अगाडि बढाउनुपर्ने आवश्यकता छ। तर अब हामी जस्तो मान्छे जसको जिलिगाँठी सबै जलाएर खरानी बनाइदिएको छ। कसरी उपचार गर्छौं होला। यो प्रश्न हामीसँग अहिले पनि बाँकी नै छ।’
गत भदौमा जेन–जी प्रदर्शनका क्रममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो।
उक्त घटनामा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन् भने घर पूर्ण रूपमा क्षति भएको थियो।
उपचारका लागि भारत लगिएको उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको बताइएको छ।
चित्रकारको यो मागले जेन–जी आन्दोलनका हिंसात्मक गतिविधि र दोषीहरूमाथि कारबाहीको विषयलाई पुनः राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा ल्याएको छ। –न्युज एजेन्सी नेपाल