सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ निवर्तमान सांसद र अन्य तीन जनाको हस्ताक्षरसहित पूरक निवेदनको सुनुवाइ आज हुने भएको छ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो।
कांग्रेसका कूल ८७ जनामध्ये ६५ जना निवर्तमान सांसदको हस्ताक्षरसहित पूरक निवेदन मंगलबार सर्वोच्च अदालत पुगेको थियो।
कांग्रेसका निवर्तमान सांसदहरूले हस्ताक्षर वारेस पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत दर्ता गराएका थिए।
कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ जनाले मंसिर २३ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए। रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।
यसमै स्वतन्त्र निवर्तमान सांसद योगेन्द्र मण्डल, जसपा र जनमतका एक एक जना निवर्तमान सांसदले पनि प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन्।
यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, सचेतक सुनिता बरालले पनि रिट दिएका थिए।
एमालेकै अन्य निवर्तमान सांसदहरूले पनि पुनर्स्थापनाको माग गरी हस्ताक्षर बुझाएका छन्। यसरी हस्ताक्षर बुझाउने विभिन्न दलका निवर्तमान सांसदहरूको संख्या १४३ पुगेको हो।