नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही ठाउँहरूमा बदनियतका साथ क्रियाशील सदस्यतासम्बन्धी काम गर्न नदिइएको पाइएको बताएका छन्।
आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरण र वितरणका कामहरू तीव्र गतिमा भइरहे पनि केही ठाउँमा बदनियतका साथ काम गर्न नदिइएको पाइएको बताए।
‘वडादेखि जिल्लासम्म ठिक समयमा काम गरेको भए क्रियाशील सदस्यता यति ढिलो हुँदैनथ्यो, क्रियाशील सदस्यता व्यवस्थापन समितिले समन्वय गर्ने हो, काम मातहत समितिहरूले नै गर्ने हो,’ उनले भने, ‘१२ औं, १३ औं र १४ औं महाधिवेशनको अनुभवका आधारमा धेरै जिल्लाहरूमा यसपालि क्रियाशील सदस्यताको काम अद्भूत गतिमा भइरहेको पाएका छौं। केही जिल्लामा विवादहरू छन् र ती ठाउँहरूमा बदनियतका साथ क्रियाशील सदस्यताको काम गर्न दिइएको छैन।’
विवाद र बदनियत राखिएका ठाउँमा तत्काल सर्वाधिकार सम्पन्न प्रतिनिधि फिल्डमा पठाउने र विधानले दिएको अधिकार अनुसार विवाद समाधान गर्ने आफूले प्रस्ताव गरेको उनले जानकारी दिए।
उनले अहिलेको महाधिवेशन कार्यतालिका सामान्य संशोधन गर्नुपर्ने बताए। पुस १६ मा गर्ने भनेको वडा अधिवेशन पुस २१ गते र २३ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए।
यदि यो मितिमा महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन हुने महामन्त्री थापाको भनाइ छ।