बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले पाँच वटा निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पार्टीका तर्फबाट समानुपातिकतर्फ उम्मेदवार हुन आवेदन दिएका उम्मेदवारका आकांक्षीहरूको २०८२ पुस ५ मा भएको छलफलमा विशेष कारणबस सहभागी हुन नसकेका, नपाएका आवेदक सहभागीहरूलाई छलफल प्रक्रिया सहभागी गराउने निर्णय गरेको छ।
उनीहरूको प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया गर्ने कार्यको जिम्मेवारी प्रवक्ता मनिष झा र सचिवालय सदस्य दिपक बोहोरालाई तोक्ने निर्णय भएको छ।
पार्टी उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले आवश्यकता अनुसार सो प्रक्रिया अनुगमन गर्ने निर्णय भएको छ।
त्यस्तै प्रवासमा रहेका उम्मेदवारका आकांक्षीहरूको मूल्यांकन भर्चुअल विधिमार्फत् गर्ने निर्णय भएको छ। यसरी भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकहरू २०८२ पुस १४ गते बिहान ९ः०० बजेभित्र (निर्वाचन आयोगमा बन्दसूची बुझाउनुअघि) पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने गरी व्यवस्था मिलाइने भएको छ।
बैठकले उम्मेदवार छनोट समितिको प्रस्ताव र पार्टी उपसभापतिहरू डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरणका लागि केन्द्रीय समितिका सदस्यहरूलाई सहभागी गराउने पनि निर्णय गरेको छ।
समानुपातिक उम्मेदवार छनोटका लागि हुने प्रारम्भिक निर्वाचनमा मतदान गर्न सदस्यहरूको मापदण्ड निर्धारण गर्ने जिम्मेवारी उम्मेदवार छनोट समितिको प्रस्तावमा पार्टीको निर्वाचन आयोगको प्रतिनिधि र सूचना प्रविधि इकाईका प्रतिनिधि सम्मिलित कार्यदलले गर्न अख्तियारी दिने निर्णय पनि भएको छ।
बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय संगठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।