राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालत पुगेर बुधबार तारेख बुझेका छन्।
अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार रविले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको तारेख बुझेका हुन्।
यसअघि नख्खु कारागारमा रहेका कारण रवि तारेख बुझ्न पोखरा आउन पाएका थिएनन्।
रविले प्रस्ताव गरे अनुसार बिगो बराबर धरौटी बुझाएर रिहा गर्न उच्च अदालत बुटवलले आदेश दिएपछि उनी धरौटी तिरेर रिहा भएका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रविसहित ६३ जनालाई विपक्षी बनाएर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड रूपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अदालतमा विचाराधीन छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रविलाई कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि जिल्ला अदालत कास्कीले थुनछेक आदेश जारी गर्दै रविलाई धरौटीमा छाडेको थियो। त्यति बेला रविले अदालतमा ६५ लाख रूपैयाँ धरौटी राखेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा ३ करोड ३७ लाख ६५ हजार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।
यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो दाबी गरिएको छ।
रवि विरूद्ध पोखराको सूर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको बचत अवैध तरिकाले गोर्खा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजनमा लगेको आरोप छ।