काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक भेटवार्ता तीव्र पारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटवार्तामा ठोस राजनीतिक प्रस्ताव नआएकाले बालेनले निर्वाचन आयोगमा दर्ता भएको 'देश विकास पार्टी' अघि बढाउने विषयमा विभिन्न दलका नेतासँग छलफल गरेका छन्।
बालेनले कांग्रेस नेता चन्द्र भण्डारी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउत, चिकित्सक डा. भगवान कोइराला र जेनजी अभियानका रक्षा बम, सागर ढकाल, केपी खनाल, कलाकार निश्चल बस्नेत लगायतसँग छलफल गरेका हुन्।
उनले भेटघाटको केन्द्र भने आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुरस्थित कुपण्डोलमा रहेको निवासलाई बनाएका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने दिन नजिकिएपछि बालेनले आफ्नो तर्फबाट गृहकार्य अघि बढाएका हुन्।
प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गतेभित्र बन्दसूची बुझाइसक्नुपर्छ।
रास्वपासँगको छलफलमा ठोस प्रस्ताव नआएकाले बालेनले आफ्नो छुट्टै छलफल सुरू गरेको उनी निकट एक नेताले बताए।
'रास्वपाले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनेर बाहिर चर्चा गराइयो, तर भेटमा यस्तो कुनै प्रस्ताव आएको छैन। रवि लामिछानेले पार्टीको विधान संशोधन र केन्द्रीय समिति कस्तो हुने लगायत विषयमा ठोस प्रस्ताव गरेका छैनन्,' बालेन निकट ती नेताले भने, 'त्यसैले देश विकास पार्टीलाई नै सक्रिय बनाउने गरी बालेन अघि बढ्न लागेका हुन्।'
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले बालेनसँग राजनीतिक विषय केन्द्रित भएर छलफल भएको पुष्टि गरे। तर उनले छलफलको विषयवस्तु खुलाएनन्।
जेजनी अभियानका सागर ढलकाले मेयर बालेनसहित विभिन्न व्यक्तिबीच चुनावी विषयमा कुराकानी अघि बढेको बताए।
उनले रास्वपासँग मिलेर अघि बढ्ने लगायत विषयमा पनि थप छलफल हुने उल्लेख गरे। 'विषयहरू टुंगिएका छैनन्,' ढकालले भने, 'अहिले त छलफलकै चरणमा छ।'
प्रतिनिधिसभाको फागुन २१ गते हुन लागेको निर्वाचनमा सहभागी हुने विषयमा बालेन पछिल्लो समय सक्रिय भएर लागेका छन्।
उनले यसअघि कुलमान घिसिङ र रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
यो पनि पढ्नुहोस्: