होन्डुरसम राष्ट्रपति निर्वाचन भएको तीन साताभन्दा लामो समयपछि त्यहाँको निर्वाचन आयोग (सिएनई) ले नतिजा घोषणा गरेको छ।
गत नोभेम्बर ३० मा मतदान भए पनि नतिजा भने बुधबार (डिसेम्बर २४)मा सार्वजनिक गरिएको हो।
सिएनईले बुधबार कन्जरभेटिम उम्मेदवार नास्री अस्फुरालाई विजयी घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उनले ४०.३ प्रतिशत मत पाएको घोषणा सिएनईले गरेको छ। उनका निकटतम प्रतिद्वन्द्वी लिबरल पार्टी साल्भाडोर नसरल्लाले ३९.५ प्रतिशत मत पाएका छन्।
त्यस्तै सत्तारूढ लाइबर पार्टीकी उम्मेदवार रिक्सी मोनकाडा धेरै कम मत पाएर तेस्रो स्थानमा रहिन्।
अस्फुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका उम्मेदवार हुन्। ट्रम्पले चुनावअघि आफ्नो सामाजिक सञ्जालमा अस्फुरा होन्डुरसमा स्वतन्त्रताको एकमात्र मित्र भनेर लेखेका थिए।
ट्रम्पले अस्फुराले चुनाव नजिते अमेरिकी आर्थिक सहयोग कटौती गर्ने चेतावनीसमेत दिएका थिए भनेर रोयटर्सले लेखेको छ।
मतगणनामा ढिलाइ भएपछि ट्रम्पले धाँधली हुन सक्नेसमेत भनेका थिए। उनले नतिजा परिवर्तन भए गम्भीर परिणामय आउन सक्ने बताएका थिए।
यस्तोमा एक प्रतिशतभन्दा कम मतान्तरले ट्रम्पले नै समर्थन गरेको उम्मेदवार निर्वाचित भएका हुन्। उनले जनवरी २७ बाट २०२६–२०३० कार्यकालका लागि पदभार ग्रहण गर्नेछन्।
निर्वाचित भएको घोषणापछि अस्फुराले आफू होन्डुरसमा शासनका लागि तयार भएको बताएका छन्। 'म तपाईंहरूलाई निराश पार्ने छैन,' उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेका छन्।
तीन सदस्यीय निर्वाचन परिषद्का दुई सदस्य र एक उप–सदस्यको उपस्थितिमा नतिजा अनुमोदन गरिएको हो। परिषद्का अर्का सदस्य मार्लोन ओचोआ भने विजेता घोषणा गर्ने भिडियो घोषणामा अनुपस्थित थिए।
मतगणनामा ढिलाइ, एक प्रतिशतभन्दा कम मतान्तरका कारण प्रतिस्पर्धी उम्मेदवारहरूले भने नतिजा अस्वीकार गरेका छन्।
नसरल्लालले निर्वाचन आयोगको निर्णय अस्वीकार गरेका छन्। उनले गणनामा समावेश हुनुपर्ने मतपत्र नै हटाइएको आरोप लगाएका छन्।
यद्यपि उनले आफ्ना समर्थकलाई शान्त रहन र कुनै हिंसात्मक गतिविधिमा नउत्रन आग्रह गरेका छन्। होन्डुरसको राष्ट्रपतिका लागि नसरल्लाको यो तेस्रो प्रयास थियो।
सत्तारूढ लाइबर पार्टीका कंग्रेस अध्यक्ष लुइस रेडोन्डोले पनि नतिजालाई गैरकानुनी भन्दै अस्वीकार गरेका छन्।
विशेषज्ञहरूका अनुसार ट्रम्पको यो समर्थन लाटिन अमेरिकामा कन्जरभेटिभ राजनीतिक घेरा विस्तार गर्ने रणनीतिको हिस्सा हो, जसमा एल साल्भाडोरका नायिब बुकेलेदेखि अर्जेन्टिनाका हाभियर मिलेईसम्म समेटिन्छन्।
नसरल्ला र लाइबर पार्टीले भने ट्रम्पको टिप्पणीलाई बाह्य हस्तक्षेपको संज्ञा दिएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अस्फुरालाई बधाई दिँदै शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि सबै पक्षलाई नतिजा स्वीकार गर्न आग्रह गरेका छन्।
अमेरिकी राज्य संगठन (ओएस) का महासचिव अल्बर्ट राम्डिनले पनि निर्वाचन प्रक्रियामा समस्या देखिएको स्वीकार गर्दै छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन्।
राष्ट्रपति निर्वाचित ६७ वर्षीय अस्फुरा राजधानी टेगुसिगाल्पाका पूर्वमेयर तथा व्यवसायी हुन्।
अस्फुरा भ्रष्टाचार र सार्वजनिक सम्पत्ति दुरुपयोगसम्बन्धी अनुसन्धानमा समेत छन्। तर उनले ती आरोप राजनीतिक प्रतिशोधपूर्ण रहेको बताउँदै आएका छन्।
चुनावी अभियानका क्रममा उनले चरम दक्षिणपन्थी नभएको दाबी गर्दै सन्तुलित राजनीति र व्यावहारिक समाधान आवश्यक रहेको बताएका थिए।