नेकपा एमालेको ११ औं महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय नयाँ कमिटी निर्वाचित भएको छ।
एमालेमा यसपटक अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भए। अध्यक्ष ओली तेहेरिरहँदा महासचिव शंकर पोखरेल पनि सोही पदमा दोहोरिए।
उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णु पौडेल, बाहेक तीन जना नयाँ अनुहार आए। पौडेल र थापा यसअघि १० औं महाधिवेशनमा नै उपाध्यक्ष निर्वाचित भएका थिए। पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्त नयाँ अनुहार हुन्।
उपमहासचिवमा तीनै जना नयाँ अनुहार हुन्।
यसअघि सचिव रहेका योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट उपमहासचिव निर्वाचित भएका छन्। सचिवमा पद्मा अर्याल, छविलाल विश्वकर्माबाहेक सात जना नयाँ अनुहार। अर्याल र विश्वकर्मा सोही पदमा दोहोरिएका हुन्। भानुभक्त ढकाल, हिक्मत कार्की, यामलाल कँडेल, शेरधन राई, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी सबैजना सचिवमा मात्र होइन पदाधिकारीमा नै नयाँ अनुहार हुन्।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व तहमा काफी परिवर्तन आएको बताए।
‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुराना, बयस्क र युवा पुस्ताको संयोजन भएर नयाँ केन्द्रीय कमिटी निर्माणमा भएको छ। महाधिवेशनबाट केही नेता विदा हुने र केही नयाँ आउने क्रम चलेन भने पार्टी गतिशील हुन सक्दैन,’ उनको भनाइ छ।
एमालेमा १८ जना पुराना पदाधिकारीमध्ये ७ जना बिदा भएका छन् भने ८ जना नयाँ आएका छन्। यसरी आउनेमा ७ जना सचिव हुन् भने एक जना उपाध्यक्ष रघुजी पन्त हुन्। ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गुरू बराल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, विष्णु रिमाल बिदा भए। बिदा हुनेमध्ये युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले स्वेच्छिक रूपमा सक्रिय राजनीतिबाट बिदा भएका हुन्। पोखरेल अध्यक्षका प्रत्यासी थिए। बराल उपाध्यक्षमा पराजित भए। पाण्डेले महासचिवमा पराजय व्यहोरे भने प्रदीप ज्ञवाली पदाधिकारीमा उम्मेदवारी नै दिएनन्। रिमाल उपमहासचिवका प्रत्यासी थिए।
त्यस्तै ४७ जना पोलिटब्युरो सदस्यमध्ये १७ जना बिदा भएको रिजालले बताएका छन्।
यसै गरी २६२ केन्द्रीय सदस्यमध्ये १४३ जना बिदा भएका छन्।
‘यसबाट एमालेमा नेतृत्व विकासको क्रमिक अभ्यास मजबुद रहेको देखाउँछ,’ उनले भनेका छन्।