बंगलादेश नेसनल पार्टीका कार्यवाहक अध्यक्ष रहेका तारिक रहमान स्वदेश फर्किएका छन्।
बिहीबार स्थानीय समयअनुसार बिहान ११:४० बजे तारिक ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको ढाकाबाट प्रकाशित हुने अनलाइन ढाका ट्रिब्युनले जनाएको छ।
उनी बिहान ९:५६ बजे सिलेटस्थित उसमानी अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। त्यहाँ एक घन्टा बसेपछि तारिक ढाका उडेका थिए।
बोइङ ७८७-८ ड्रीमलाइनर बिजी -२०२ विमान बुधबार स्थानीय समय अनुसार साँझ ६:१५ बजे लन्डनको हिथ्रो विमानस्थलबाट प्रस्थान गरेको थियो।
तारिकसहित उनकी श्रीमती डा.जोबैदा रहमान र छोरी ब्यारिस्टर जैमा रहमान पनि सँगै रहेको ढाका ट्रिब्युनले जनाएको छ।
उनले डिसेम्बर २५ मा स्वदेश फर्कन लन्डनस्थित बंगलादेशी उच्चायोगमा आवेदन दिएका थिए।
आउँदो फेब्रुअरीमा हुने घोषणा गरिएको आमनिर्वाचनको पूर्वसन्ध्यामा तारिक तारिकको स्वदेश फिर्तीले बंगलादेशको राजनीतिक सरगर्मी बढाएको छ।
तारिक रहमान बिएनपीका संस्थापक जियाउर रहमान र पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्। उनलाई सन् २००७ मा सेना समर्थित तत्कालीन सरकारले पक्राउ गरेको थियो। सन् २००८ मा उपचारका लागि बेलायत गएका उनी त्यसयता उतै बस्दै आएका छन्।
विमानस्थलबाट तारिक रहमान ढाकाको ३०० फिट रोडमा निर्माण गरिएको अस्थायी मञ्चमा पुगेर देशवासी र समर्थकलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि उनी बसुन्धरास्थित एभरकेयर अस्पताल पुगेर उपचाररत आमा तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई भेट्नेछन्। भेटपछि उनी गुलसनस्थित निवास फर्कनेछन्।
बिएनपी अध्यक्षको राजनीतिक कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टी स्थायी समिति सदस्य सलाउद्दिन अहमदले तारिक रहमानको आगमनलाई ध्यानमा राख्दै आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिए।
'उहाँले सर्वसाधारणलाई असुविधा हुने कुनै कार्यक्रम चाहनुहुन्न,' उनले भने।
सलाउद्दिनका अनुसार शुक्रबार जुम्मा नमाजपछि तारिक रहमान दिवंगत पूर्वराष्ट्रपति जियाउर रहमानको समाधिमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि उनले साभारस्थित राष्ट्रिय स्मारकमा मुक्ति संग्रामका सहिदप्रति सम्मान व्यक्त गर्ने कार्यक्रम पनि छ। शनिबार उनले निर्वाचन आयोग पुगेर राष्ट्रिय परिचयपत्रसम्बन्धी औपचारिक प्रक्रिया पूरा गर्नेछन्। त्यसपछि शहीद उस्मान हादीको समाधि तथा जुलाई आन्दोलनका घाइतेलाई भेट्न अस्पताले जानेछन्।
बिएनपीले तारिक रहमानको आगमनलाई ऐतिहासिक बनाउने तयारी गरेको छ।
बिएनपीको अनुमानमा कम्तीमा ५० लाख मानिस कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ। वरिष्ठ संयुक्त महासचिव रुहुल कबीर रिजवीले देशका विभिन्न भागबाट कार्यकर्ता र समर्थकहरू ढाका आइपुग्न थालिसकेको बताए।
उनले यो कार्यक्रम आगामी संसदीय चुनावअघि पार्टीको संगठनात्मक शक्ति प्रदर्शनको अवसरसमेत भएको उल्लेख गरे।
गृह मन्त्रालयले कुनै विशेष सुरक्षा खतरा नरहे पनि सावधानीका रूपमा विशेष सुरक्षा व्यवस्था गरिएको जनाएको छ।
उनको आवतजावतमा प्रहरीको विशेष सुरक्षा रहनेछ भने निवास र कार्यालयमा बहुस्तरीय सुरक्षा घेरा बनाइनेछ। सम्पूर्ण सुरक्षा व्यवस्थाको समन्वय अवकाशप्राप्त ब्रिगेडियर जनरल डा. ए के एम शम्सुल इस्लामलाई जिम्मा दिइएको छ। बिएनपीले सम्भावित जोखिम देखाउँदै विशेष सुरक्षा बल (एसएसएफ) बाट सुरक्षा माग गरिसकेको छ।
राज्य सुरक्षा बाहेक बीएनपीले आन्तरिक सुरक्षामा पनि जोड दिएको छ। पुनर्गठित चेयरपर्सन सेक्युरिटी फोर्स (सीएसएफ) ले तारिक रहमानको व्यक्तिगत सुरक्षा सम्हाल्नेछ। करिब १० हजार स्वयंसेवकलाई भीड व्यवस्थापन, यातायात नियन्त्रण र सुरक्षा निकायसँग समन्वयका लागि परिचालन गरिने बताइएको छ।
समर्थकहरूको आवागमन सहज बनाउन रेल मन्त्रालयले १० वटा रुटमा विशेष रेल सञ्चालन गर्ने र नियमित सेवामा अतिरिक्त डिब्बा थप्ने निर्णय गरेको छ।
गत वर्षको विद्यार्थी आन्दोलनपछि अपदस्थ भई भारत निर्वासित शेख हसिना प्रधानमन्त्री रहँदा खालिदा जिया जेलमा थिइन्।
अन्तरिम सरकारले लिएको थियो मुद्दा फिर्ता
खालिदाका छोरा तारिक रहमानलाई पनि विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको थियो। तर मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले खालिदा जिया र उनका छोराविरूद्धका मुद्दा फिर्ता लिइसकेको छ।
मोहम्मद युनुसले नै रहमानलाई स्वदेश फिर्ता बोलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्। रहमानकी आमा खालिदा जिया भने अहिले गम्भीर बिरामी छिन्। करिब तीन साताअघि बिरामी खालिदालाई भेट्न अन्तरिम सरकार प्रमुख युनुस अस्पताल नै गएको बंगलादेशी सञ्चार माध्यमहरूले लेखेका थिए।
खालिदा जिया चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय रहँदै आएकी थिइन्। आफ्ना पति जियाउर रहमानको हत्या भएपछि उनले बिएनपीको नेतृत्व सम्हालेकी थिइन्। सन् १९८१ मा जियाउर रहमान बंगलादेशका राष्ट्रपति थिए। त्यही बेला उनको हत्या गरिएको थियो।
खालिदा जिया बंगलादेशमा बहुदलीय लोकतन्त्रकी समर्थक मानिन्छिन्। उनी सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। सन् १९९१ को निर्वाचनमा बिएनपी विजयी भएको थियो। त्यसपछि सन् २००१ मा फेरि सत्तामा फर्किएर बिएनपीले २००६ सम्म शासन गरेको थियो।
बिएनपीले पछिल्ला तीन निर्वाचन बहिष्कार गरेको छ। सन् २०२४ मा शेख हसिनाविरूद्ध सुरू भएको आन्दोलनलाई खालिदा जियाले समर्थन गरेकी थिइन्।
हाल बिएनपी बंगलादेशको सबभन्दा ठूलो पार्टी मानिन्छ र आगामी वर्ष हुने निर्वाचनमा सत्ता हासिल गर्न सक्ने अनुमान गरिएको छ।