काठमाडौंका मेयर बालेन शाहले जेनजी प्रतिनिधिहरूलाई एकजुट गर्न रक्षा बमलाई जिम्मेवारी दिएका छन्।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जेनजीहरूलाई पनि सहभागी गराउन नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई मेयर शाहले जिम्मेवारी दिएका हुन्।
बुधबार बालेनले आफ्ना सहयोगी कुमार व्यञ्जनकारको ललितपुरको कुपण्डोलस्थित घरमा रक्षा बमसहित विभिन्न व्यक्तिहरूसँग राजनीतिक संवाद गरेका थिए। आज पनि छलफल भइरहेको छ।
छलफलको क्रममा एउटा स्टेकहोल्डर भने जेनजी प्रतिनिधि भएका छन्। बालेनले देश विकास पार्टीमा जेनजी प्रतिनिधिलाई समेत समावेश गर्न चाहेका हुन्।
त्यसका लागि छलफल गर्न बुधबार दिउँसो स्वकीय सचिव भूपदेव शाहले रक्षा बमलाई बोलाएका थिए। करिब ३ बजेदेखि साँझ ६ बजेसम्म बालेन र उनको सचिवालय सदस्यहरूसँग छलफल भएको थियो।
बालेनका एक सचिवालय सदस्यका अनुसार रक्षा बमलाई जेनजी प्रतिनिधिहरू भित्र्याउन जिम्मेवारी दिइएको छ।
‘कुराकानी भइरहेका छन्। मेयर अगाडि बढ्ने निश्चिन्त भइसकेको छ। त्यसका लागि सबै पक्षलाई मिलाउन बाटो खुला नै गरिएको छ। कसैसँग नमिलेको अवस्थामा एक्लै भएपनि लड्ने भन्ने भएको छ,’ ती सदस्यले भने, ‘जेनजीहरूलाई पनि ल्याउने कुरा छ। रक्षा बमसँग कुराकानी भएको छ। जेनजी प्रतिनिधिहरूको वास्तविक टिमहरूलाई मिलाउने तयारी छ। जेनजी को-को आउने भन्ने विषय रक्षा बमले संयोजन गरिरहनुभएको छ।’
सहिद परिवार, जेनजीका विभिन्न समूहसँग छलफल गर्नका लागि उनलाई जिम्मेवारी दिइएको ती सदस्यले बताए।
रक्षा बम र बालेनको टिमसँग भएको छलफल तीन घण्टा भएको छलफल भएको थियो।
‘यो सुरूवात हो। पहिलो पाइला चालेका छौं, हेरौं के हुन्छ। हामी वैकल्पिक शक्तिसँग संवाद खुला नै राखेका थियौं। हामीलाई नयाँहरू मिल्न पर्यो भन्ने कुराहरू आइरहन्थे। त्यही अनुसार हामीले हिजो मेयरजीसँग कुराकानी गर्यौं,’ उनले सेतोपाटीसँग भनिन्, ‘कुराकानीमा वैकल्पिक शक्ति एक ठाउँमा उभिन सम्भावना छ कि छैन भनेर पनि छलफल गर्यौं। सबैसँग मिल्ने कुरा भएको थियो।’
रक्षा बमले यस विषयमा तीन वटा विषयमा स्पष्टता खोजेको बताइन्।
उनले राजनीतिक स्पष्टताका लागि १० मिनेट कुराकानी गरेको बताइन्। जहाँ रक्षा बमले संविधान, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारीबारे प्रश्न गरेकी थिइन्।
‘संघीयता चाहिन्छ। संविधान बेस्ट नै छ। तर कार्यान्वयन गर्नेहरूले गल्ती गरेकाले हो। लोकतन्त्र नै चाहिन्छ भन्ने खालका कुरा गर्नुभएको थियो,’ बमले भनिन्, ‘प्रत्यक्ष कार्यकारीको विषयमा छलफल भएको थियो।’
यी जबाफ सुनेपछि भने आफू पनि विश्वस्त भएको उनले बताइन्। रक्षा बमलाई बालेनले चुनावका लागि आँट्न पनि अनुरोध गरेको उनले बताइन्।
त्यसका लागि समानुपातिक बस्ने वा प्रत्यक्ष उठ्ने भन्ने विषयमा विकल्पहरू रहेको पनि उनले बताइन्। यद्यपि यस विषयमा यकिन नभएको उनले बताइन्।
यसपछि सचिवालय सदस्यहरूबीच कुराकानी भएको थियो।
‘जेनजीहरू क-कसको रूची/इच्छा छ सबैजनासँग कुराकानी गर भनेर भन्नुभएको थियो। त्यसका लागि छलफल गर भनेर भन्नुभएको हो,’ उनले भनिन्।
बालेनले बुधबार कांग्रेस नेता चन्द्र भण्डारी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउत, चिकित्सक डा. भगवान कोइराला र जेनजी अभियानका रक्षा बम, सागर ढकाल, केपी खनाल, कलाकार निश्चल बस्नेत लगायतसँग छलफल गरेका थिए।
उनले भेटघाटको केन्द्र भने आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुरस्थित कुपण्डोलमा रहेको निवासलाई बनाएका थिए।
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने दिन नजिकिएपछि बालेनले आफ्नो तर्फबाट गृहकार्य अघि बढाएका हुन्।
प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गतेभित्र बन्दसूची बुझाइसक्नुपर्छ।
प्रतिनिधिसभाको फागुन २१ गते हुन लागेको निर्वाचनमा सहभागी हुने विषयमा बालेन पछिल्लो समय सक्रिय भएर लागेका छन्।