काठमाडौं महानगरपालिका मेयर बालेन शाहले जेनजीका प्रतिनिधिहरूसँग कुराकानी गरेका छन्।
बिहीबार अपराह्न बालेनले ललितपुरको कुपण्डोलस्थित कुमार बेनको निवासमा जेनजी प्रतिनिधिहरूसँग अन्दाजी २० मिनेट कुराकानी गरेका हुन्।
भेटको क्रममा बालेनले आफूहरूसँग राजनीतिको नयाँ अध्याय सुरू गरेको बताएको जेनजी अगुवा प्रदीप ज्ञवालीले बताए।
‘वैकल्पिक शक्ति भनिरहेका छौं। राजनीतिको नयाँ अध्याय सुरू गरेका छौं। सबै जना मिलेर जानुपर्छ,’ मेयर शाहको भनाइ उदृत गर्दै ज्ञवालीले भने, ‘जेनजीहरू पनि मिलेर आउनुस् भन्नुभयो।’
केही जेनजी प्रतिनिधिहरूले सरकारसँग भएको सम्झौताबारे कुरा राखेको पनि उनले बताए।
अर्का अगुवाका अनुसार सुदन गुरूङले पनि आफ्ना कुरा राखेका थिए। उनले त्यहाँ उक्त सम्झौता राष्ट्रपतिसँग हुनुपर्ने पनि धारणा राखेका थिए।
‘उहाँले राष्ट्रपतिसँग सम्झौता हुनुपर्छ। नभए गाह्रो पर्छ। हामी जेनजीहरू छुट्टाछुट्टै गएर पनि भएन। म एक्लैले लिने होइन, जसले समन्वय गर्ने हो। गरे हुन्छ,’ उनको भनाइ उदृत गर्दै एक जेनजी प्रतिनिधिले भने।
जेनजी प्रतिनिधि युजन राजभण्डारीका अनुसार मेयरले सबै अगाडि आउन अनुरोध गरेको बताए।
‘सबै स्वच्छ छवि भएकाहरू अगाडि आउनुपर्यो, मिल्नपर्यो भनेर उहाँले भन्नुभयो,’ उनले भने।
नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पनि बैठकमा आफ्नो धारणा राखेकी थिइन्।
‘हामी राजनीतिमा आउँदै गर्दा भर्खरै मिड ट्वान्टिजमा छौं। धेरै कुरा त्यागेर आइरहेका छौं। यो हाम्रा लागि ठूलो कुरा हो। धेरै कुरामा हामी मिलेर जानुपर्छ,’ बमको कुरा उदृत गर्दै राजभण्डारीले भने।
जेन फोर्सका संयोजक रोहनराज दंगालले रवि लामिछाने र कुलमान घिसिङसँगै मिलेर जाने तयारी रहेको भनेर बालेनले ब्रिफिङ गरेका थिए।
'एकै ठाउँमा आउने विषयमा रवि र कुलमान सकारात्मक हुनुहुन्छ। तपाईहरू पनि यसमा सकारात्मक रूपमा सहभागी हुनुस्,' बालेनको भनाइ उद्धृत गर्दं दंगालले भने।
जेनजी समूहमा २५ वर्ष पूरा भएकाहरूलाई निर्वाचनमा उम्मेदवार बनाउने पनि बालेनले बताएका छन्।
'सबैलाई कसरी जिम्मेवारी दिने भन्ने विषयमा छलफल पनि गरौंला,' बालेनले जेनजीहरूलाई भनेका थिए।