नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि कास्की–३ बाट संयोजक प्रचण्ड र उनकी बुहारी सिर्जना त्रिपाठीलाई सिफारिस गरेको छ।
नेकपा कास्की–३ को बिहीबार बसेको बैठकले प्रचण्ड र उनका बुहारी त्रिपाठीसहित १६ जनाको नाम सिफारिस गरेको केन्द्रीय सदस्य रामजी बराल ‘जीवन’ले बताए। प्रचण्ड आउन चाहेमा सर्वसम्मत र नचाहेमा थप १५ जनाले उक्त क्षेत्रबाट उम्मेदवार हुन चाहेकाले सिफारिस गरेको उनले बताए।
‘प्रचण्ड कास्की– ३ मा चुनाव लड्न आउनुभयो भने सर्वसम्मत सिफारिस छ, उहाँले चाहनुभएन भने हामी १५ जनाले चाहना राखेका छौं,’ उनले भने।
नेकपाले एउटा निर्वाचन क्षेत्रबाट जेनजी समुहका उम्मेदवारसहित कम्तिमा ५ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार पार्टीको क्षेत्रीय कमिटी बैठक बसेर बुधबार नाम सिफारिस गरेको तत्कालीन माओवादी केन्द्रका कास्की–३ का क्षेत्रीय संयोजक भीम क्षितिजले बताए।
बैठकमा प्रचण्डकी बुहारी त्रिपाठी उपस्थित भएर आफू पनि चुनाव लड्ने भन्दै चाहना राखेकी थिइन्। उनले उम्मेदवारको आकांक्षा राखेपछि उनको नाम पनि केन्द्रमा सिफारिस गरेको क्षितिजले बताए। त्रिपाठी तत्कालीन माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य छिन्।
यसअघि २०७९ मा भएको स्थानीय निर्वाचनमा पनि त्रिपाठीको नाम पोखरा महानगरको उपमेयरमा सिफारिस भएको थियो। त्यतिबेला ५ दलीय गठबन्धन हुँदा मेयरमा नेकपा एकिकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले टिकट पाएका थिए। चुनावमा मेयर आचार्यले जितेका थिए भने उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले गठबन्धन उम्मेदवार रानाभाटलाई हराएकी थिइन्।
प्रचण्डका बुहारी त्रिपाठी पोखराको हेम्जामा जन्मिएकी हुन्। उनको विवाह प्रचण्डपुत्र प्रकाश दाहालसँग भएको थियो। उनको एक छोरा पनि छन्। प्रकाशको मृत्यु भएपछि सिर्जना माओवादी राजनीतिमा सक्रिय छिन्।
प्रचण्ड र उनका बुहारीसहित नेकपाले केन्द्रीय सदस्यहरू रामजी बराल ‘जीवन’ दुर्गा विक, एकिकृत समाजवादीका तत्कालीन प्रदेश संयोजक कृष्ण नेपाली, क्षेत्रीय संयोजक भीम क्षितिज, रत्नकुमारी गुरुङ, गोविन्दप्रसाद अधिकारी, भानुभक्त अधिकारी, भोजराज पौडेल, बलराम सुवेदी, प्रेम पौडेल र गणेश आचार्य पनि उम्मेदवार सिफारिस भएका छन्।
यस्तै, जेनजी क्लष्टरबाट शहरणसिंह विश्वकर्मा, सुमन ढुंगाना र प्रसन्न अधिकारीलाई पनि उम्मेदवार सिफारिस गरिएको क्षेत्रीय संयोजक क्षितिजले बताए।
कास्कीको लेवाडेमा जन्मिएका प्रचण्ड पार्टीको मुख्य नेता भएकाले आफ्नो जन्मथलोमा चुनाव लड्न आमन्त्रण गर्न सर्वसम्मत सिफारिस गरेको उनले बताए।
‘प्रचण्ड हाम्रो मुख्य नेता हो, अहिले देशको पनि राजनेता हुनुहुन्छ। उहाँलाई आप्mनो जन्मथलोमा चुनाव लड्न आउन हामीले सर्वसम्मत सिफारिस गरेका हौं,’ क्षितिजले भने, ‘यस विषयमा प्रचण्डसँग कुराकानी भएको छैन।’