नेपाली कांग्रेसले अहिलेसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण सकेको छ।
यो तथ्यांक १४ औं महाधिवेशनको भन्दा बढी हो।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली 'स्नेही' ले आजसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण सकिएको सेतोपाटीलाई बताए।
‘केही जिल्ला छुटपुट छ, केही जिल्लामा विवाद छ, आजसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरणको काम सकियो,’ उनले भने, ‘यो आँकडा जनसम्पर्क समिति र विवाद देखिएका जिल्ला बाहेकको हो।’
उनकाअनुसार २०७८ सालमा १४ औं महाधिवेशन हुँदा जम्मा ७२ प्रतिशत क्रियाशील सदस्यले नवीकरण गरेका थिए। ‘यसपालि नवीकरण गर्ने प्रतिशत बढ्यो,’ उनले भने।
कांग्रेसले विगतमा क्रियाशील नवीकरण छुट भएकालाई पनि यसपालि नवीकरण गर्ने गरी मापदण्ड खुकुलो बनाएको छ भने राष्ट्रिय दल छाडेर आएकालाई पनि क्रियाशील सदस्यता दिएको छ।
कांग्रेसमा ८ लाख ८९ हजार क्रियाशील सदस्य रहेकोमा त्यसको ७५ प्रतिशत क्रियाशील नवीकरण भएको रसाइलीको भनाइ छ।
नयाँ क्रियाशील सदस्यताको १२५ ठाउँबाट सिष्टममा इन्ट्री भइराखेको उनले बताए।
‘नयाँ सदस्यताको १२५ ठाउँमा प्रविष्ट भइरहेको छ, त्यसको आँकडा लिन बाँकी छ,’ उनले भने।
१४ औं महाधिवेशनका बेला १५ औं महाधिवेशनमा भाग लिने गरी निर्णय भएअनुसार क्रियाशीलको फारम दिने पनि निर्णय भएको उनले जानकारी दिए।
‘यसअनुसार सुर्खेत, काठमाडौं ६, पर्सा ३ मा पनि क्रियाशील फारम दिने निर्णय भएको छ,’ उनले भने।
कपिलवस्तु १ मा जसपाका नेताहरू कांग्रेसमा आएकोले त्यहाँ पनि क्रियाशील फारम उपलब्ध गराउने निर्णय भएको उनले बताए। ‘कपिलबस्तु १ मा ५७५ वटा नवीकरण फारम दिने निर्णय भएको छ,’ उनले भने।
कांग्रेसले पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो।
हिजोआज केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेका छन्। यो बैठकले महाधिवेशन कार्यतालिकामा संशोधन गर्ने तयारी गरेको छ।