काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच बिहीबार दिउँसो भेटवार्ता हुँदा उनीहरू साँझ वा राति फेरि अर्को चरणको वार्तामा बस्ने गरी छुट्टिएका थिए।
तर समय नमिल्दा बिहीबार साँझ वा राति हुने भनिएको भेट स्थगित भएको छ।
उनीहरूको अर्को भेट शुक्रबार पनि हुने छैन। शुक्रबार काठमाडौं महानगरको नगरसभा बैठक भएकाले रविसँगको 'वान अन वान' वार्ताका लागि बालेनले समय मिलाउन नसकेको स्रोतको भनाइ छ।
'अब उहाँहरूको अर्को चरणको भेटवार्ता एकैचोटि शनिबार हुन सक्छ,' बालेन निकट स्रोतले भन्यो।
यसबीच बालेन र रास्वपाको टिमबीच आपसी सहकार्यको मोडालिटीबारे छलफल जारी रहने स्रोतले बताएको छ।
बालेन र रविबीचको राजनीतिक संवादको सुरूआत गत सोमबार भएको थियो। रास्वपाका पूर्वसांसद असिम शाहको घरमा ६ घन्टा भएको वार्तामा रास्वपा सभापति रविले बालेनलाई नै प्रधानमन्त्री बनाउने गरी फागुन २१ को चुनावमा जाने प्रस्ताव गरेका थिए। यो प्रस्तावमा ठोस सहमति हुन भने बाँकी छ।
उनीहरू दुईबीच अहिलेसम्म भएका छलफलमा केही विषयमा सहमति भइसकेको छ भने केही विषयमा सहमति जुट्न बाँकी रहेको स्रोतको भनाइ छ।
यसबीच बालेन र ऊर्जामन्त्री कुलमान घिसिङबीच भने सहकार्य गरेर सँगै अघि बढ्ने सहमति भइसकेको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेकराज सिंहले जानकारी दिए।
'बालेन र कुलमानबीच मिलेर सँगै जाने समझदारी बनेको छ,' उनले भने।
बालेनले बिहीबार बिहानै पनि ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेका थिए। घिसिङ निकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। बालेनको समर्थन रहेको देश विकास पार्टी पनि निर्वाचन आयोगमा दर्ता छ। यसका अध्यक्ष सन्ध्या खनाल छिन् भने चुनाव चिह्न 'लौरो' छ। लौरो चिह्नबाटै २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित भएका थिए।
बिहीबार बिहान बालेनसँग कुरा गरेका कुलमानले दिउँसो उज्यालो नेपालको पार्टी कार्यालय उद्घाटन गर्दै भनेका थिए, 'नयाँ शक्ति सबै मिलेर जानुपर्छ।'
रास्वपाले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरे पनि त्यसको मोडालिटी प्रस्ट नभएकाले बालेनले कुलमान लगायत विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग मिलेर नयाँ राजनीतिक समीकरण बनाउन छलफल अघि बढाएका हुन्।
उनी विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्व विवेकशील साझाका नेतालाई देश विकास पार्टीमा जोड्ने र त्यही पार्टीमार्फत् आगामी निर्वाचनमा देशव्यापी उम्मेदवारी दिने तयारीमा छन्।
फागुन २१ को आमनिर्वाचन लक्ष्य गरी नयाँ राजनीतिक समीकरण बनाउने तयारीमा जुटेका बालेनले यसका लागि बिहीबार बिहानदेखि साँझसम्मै एकपछि अर्को 'म्याराथन मिटिङ' गरे।
उनले बिहीबार कुलमान घिसिङ र रवि लामिछानेका अतिरिक्त पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका निवर्तमान सांसद सुनील शर्मा, निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंह, रास्वपाका निवर्तमान सांसद शिशिर खनाल, हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार र जेनजी प्रतिनिधिहरूको समूहसँग भेटेका थिए।
जेनजी प्रतिनिधिहरू रक्षा बम, पुरूषोत्तम यादव, युजन राजभण्डारी, रोहनराज दंगाल, जेम्स कार्की, सुदन गुरूङ लगायतसँग बालेनले केही दिनदेखि नै निरन्तर संवाद गरिरहेका छन्।
आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुर कुपण्डोलस्थित निवासमा गरिएको 'म्याराथन मिटिङ' मा बालेनले आफू संसदीय राजनीतिमा प्रवेश गरेको प्रस्ट सन्देश मात्र दिएका छैनन्, सबै नयाँ शक्ति मिलेर एकीकृत रूपले चुनाव लड्न आह्वान पनि गरेका छन्।
'म अब सक्रिय राजनीतिमा आएँ, हामी सबै मिलेर चुनावमा जाऊँ,' बालेनसँग विभिन्न चरणको छलफलमा सहभागी एक नेताले उनको भनाइ उद्धृत गर्दै सेतोपाटीसँग भने।
बालेनले भेटवार्तामा डाकेका जेनजी प्रतिनिधि र नेताहरूलाई 'यो राजनीतिक अभियानमा तपाईंहरू मलाई साथ दिनुहुन्छ नि' भनेर सोध्ने गरेको ती नेताले जानकारी दिए।
'म त एउटा निर्वाचन क्षेत्रमा चुनाव उठूँला, तर म मात्र उठेँ भने केही परिवर्तन ल्याउन सकिँदैन। मलाई बाँकी १६४ सिटमा चुनाव उठ्ने मान्छे चाहिएको छ। समानुपातिक सिटका लागि पनि थप मान्छे चाहिएको छ। यसका लागि मलाई यो अभियानमा जोडिन सक्ने वा जोडिन चाहने सबैको साथ र सहयोग चाहिएको छ,' बालेनले भेटवार्ता क्रममा भन्ने गरेका छन्।
बालेनले छलफललाई तीव्रता दिनुको एउटा मुख्य कारण समानुपातिक सूची बुझाउने दिन नजिक आएकाले पनि हो।
समानुपातिकको बन्दसूची यही पुस १३ र १४ गते निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। यसका लागि देश विकास पार्टीले शनिबारसम्म ११० क्षेत्रका उम्मेदवार तय गरेर आयोगमा सूची बुझाउने तयारी भइरहेको स्रोतले जानकारी दियो।