नेकपा एमालेका सभापति तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयरले आफूसँग झापामा चुनाव लड्न चाहेको विषयमा पहिलो पटक सार्वजनिक प्रतिक्रिया जनाएका छन्।
बिहीबार पत्रकारहरूले 'बालेन शाह तपाईंसँग चुनाव लड्न झापा जाने रे, के भन्नुहुन्छ?' भनेर ओलीलाई प्रश्न गरेका थिए।
जबाफमा ओलीले भने, 'यो कुनै सोध्नुपर्ने प्रश्न हो?'
त्यसपछि ती पत्रकारले फेरि सोधे, 'जित निश्चित छ?'
यसमा ओली जबाफ दिन्छन्, 'के सोध्या यो?'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङ लगायत विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेतासँग मिलेर नयाँ राजनीतिक समीकरण बनाउने अभियानमा जुटेका बालेनले आफू निकटहरूसँग 'झापा गएर केपी ओलीविरूद्ध चुनावमा खडा हुन चाहेको' बताउने गरेका छन्।
'बालेन दाइ ओलीलाई नहराइकन त चुनाव जितेको मज्जा हुँदैन भन्नुहुन्छ,' बालेनसँग निकट सम्पर्कमा रहेका एक नेताले भने, 'उहाँको चाहना ओलीलाई नै हराउने हो।'
बालेन शाहको घर काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ स्थित सिनामंगलमा छ।