नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार बुधबारदेखि सुरू भएको कार्यसम्पादन समितिको बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए।
कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताउँदै क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरौं भन्ने प्रस्ताव आएको बताए।
‘नेपाली कांग्रेसको महाधिवेशनबाट नेतृत्व चयन गर्ने मात्रै भन्दा सकारात्मक खालको के सन्देश दिने भन्ने हो, अहिले हामी महाधिवेशनमा केन्द्रित छौं, जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव हुन असम्भव छ, यसका लागि सरकारले वातावरण बनाउनुपर्छ, चुनाव फागुनमा भन्दा वैशाखमा गर्नु उपयुक्त हुन्छ,’ उनले भने।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीका विषयलाई कसैले अतिरञ्जित तरिकाले सार्वजनिक गर्नुभन्दा पार्टीको बैठकमा राख्नु उचित हुने बताए। ‘हामीले कसैलाई दोष दिने कुरा छैन, सभापतिले कार्यवाहक सभापतिलाई सम्पूर्ण अधिकार दिनुभएको छ, महामन्त्रीलाई क्रियाशील सदस्यको व्यवस्थापन गर्ने अधिकार विधानले नै दिएको छ, अब सकेसम्म कति समय लाग्छ, त्यो टुंगो लगाएर अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ छैन, त्यसपछि अधिवेशन रोकिने छैन, सहज रुपमा हुन्छ,’ उनले भने।