काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पार्टी कार्यालय शुक्रबारबाट सञ्चालनमा आउने भएको छ।
मेयर बालेन शाहले दल सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा नम्बर १० स्थित ज्वागलमा दुई तले घर भाडामा लिएका छन्।
बाहिर रङरोगन नगरिए पनि भित्री डेकेरेसनका केही काम सकिएकाले आजबाट सञ्चालनमा ल्याउन योग्य रहेको उनको सचिवालयले जानकारी दिएको छ।
पछिल्ला दुई दिन राजनीतिक भेटवार्ता तीव्र बनाएका बालेनले आगामी भेटघाट र संवाद त्यही घरबाट गर्नेछन्।
बुधबार राति र बिहीबार दिनभरि मेयर शाहले आफ्नो सचिवालय सदस्य कुमार बेनको ज्वागलस्थित घरमा शृंखलाबद्ध भेटघाट र संवाद गरेका थिए।
‘आजबाट कुमार बेनको घरमा भेटघाट हुँदैन। पार्टी कार्यालयमै भेटघाट हुने छ,’ उनको सचिवालयले जानकारी दिए।
यद्यपि मेयर बालेनले आज दिउँसो राजनीतिक भेटघाट, वार्ता गर्ने छैनन्। आज काठमाडौं महानगरपालिकाको नगरसभाको १८ औं अधिवेशन भएकाले मेयर शाह त्यतै व्यस्त रहने उनको सचिवालले जानकारी दियो।