नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टी १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन्।
सेतोपाटीसँगको फोन संवादमा नेता गिरीले आउने महाधिवेशनमा आफू उपसभापति पदमै उम्मेदवार बन्ने निश्चित गरिसकेको बताए।
‘मेरो पार्टीमा ठूलो लगानी छ र म अरूभन्दा धेरै सिनियर नेता हो,’ नेता गिरीले भने, ‘अहिले पार्टीभित्र मेरो पक्षमा वातावरण निकै राम्रो छ र म उपसभापतिमा लड्ने शत प्रतिशत निश्चय गरी प्रचारप्रसारमा लागेको छु।’
केन्द्रीय सदस्य गिरी १४ औं महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। यस पटक कुन समूहबाट उपसभापति पदमा उम्मेदवार बन्ने भन्नेबारे उनले स्पष्ट खुलाउन चाहेनन्।
दाङको क्षेत्र नं. ३ बाट निर्वाचित विघठित प्रतिनिधिसभा सदस्य गिरीले बाँकेको नेपालगञ्जमा मंगलबार आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए।
नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन समारोहमा सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले आफू उपसभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका थिए।
गिरीले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गरेको बताएका थिए।
उनी हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री छँदा २०७३ सालमा नौ महिना सिँचाइ मन्त्री बनेका थिए।