राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्षबीच एक भएर अघि बढ्ने विषयमा लगभग सहमति भएको नेताहरूले जनाएका छन्।
दुवै पक्षका दुई-दुई जना रहेको चार सदस्यीय वार्ता समितिबीच छलफल भएर प्रस्तावहरूमा लगभग सहमति भए पनि अन्तिम टुंगो भने आज लाग्न सकेन।
‘हामीहरूबीच मिलेर अघि बढ्ने सहमति भएको छ, आजै टुंग्याउने भन्ने तयारी थियो तर भोलिसम्म तन्कियो,’ रास्वपा नेता शिशिर खनालले सेतोपाटीसँग भने।
के-के विषयमा सहमति जुट्यो भन्नेबारे दुवै पक्षले विस्तृत रूपमा खुलाएका छैनन्।
रास्वपाका एक नेताका अनुसार मेयर शाहलाई सहसभापति र प्रधानमन्त्री बनाउने भन्ने कुरा प्रस्तावित छ। केन्द्रीय समितिमा मेयर बालेन शाह पक्षलाई पनि समेट्नेजस्ता कुराहरू छन्।
वार्ता समितिका बीचमा लगभग सहमति जुटेको छ भने त्यसलाई अन्तिम रूप सभापति लामिछाने र मेयर शाहबीच कुराकानी गरेपछि हुनेछ। नेताहरूका अनुसार मिलेर अघि जाने विषयमा शनिबार टुंगो लाग्नेछ।
मेयर शाहनिकट नेताहरूले लौरो चुनाव चिह्न लिएर देश विकास पार्टी पनि निर्वाचन आयोगमा अद्यावधिक गरेका थिए। मेयर शाहले अब आफू दलबाट राजनीतिमा होमिने कुरा निकटहरूसँग बताएका छन्।