नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको निर्वाचन हुनुअघावै पार्टीको नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य हुने बताएका छन्।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै महामन्त्री शर्माले विशेष महाधिवेशन पक्षधर नेताहरूले केन्द्रीय कार्यालयमा ‘विशेष महाधिवेशन आह्वानका लागि स्मृति पत्र’ दर्ता गराएको सन्दर्भ पनि सुनाएका छन्।
'अझै पनि नियमित महाधिवेशन गर्न सकिने थोरै सम्भावना बाँकी छ,' उनले भने, 'त्यसका लागि हालको कार्यतालिकामा हेरफेर गर्दै १५ औं महाधिवेशनलाई नियमित नै सम्भव बनाऔं।'
तर, कार्यतालिका परिमार्जन गरेर पनि नियमित महाधिवेशन सम्भव नदेखिए विशेष महाधिवेशनको प्रक्रिया तत्काल सुरू गर्नुपर्ने शर्माको भनाइ छ।
उनले पार्टीलाई निर्वाचनमा जानुअघि नियमित वा विशेष- दुईमध्ये कुनै एक महाधिवेशन गर्नैपर्ने अनिवार्य अवस्था रहेको स्पष्ट पारे।
महामन्त्री शर्माले भने, 'महाधिवेशन पार्टीको आन्तरिक व्यवस्थापनका लागि मात्र नभई पार्टी पंक्तिमा ऊर्जा भर्ने र नागरिक तहमा नयाँ विश्वास जागृत गर्ने प्रमुख माध्यम हो।'