प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछिन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न लागेकी हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे छलफल तय भएको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनावको तयारीमा छ।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले चुनावको विकल्प नरहेको बताउँदै आएका छन् भने नेकपा एमालेले भने फागुनमा चुनाव नहुने दाबी गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको विषय उठाएको छ।
त्यसका लागि एमालेले केन्द्रीय समिति बैठकबाट निर्णय नै गरेर संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ।
कांग्रेसले पार्टीबाट निर्णय नगरे पनि निवर्मान सांसदहरूले संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर संकलन गरेको छ।
शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव हुने वातावरण बनाउनका लागि भने तीनै दलका नेताहरूले सरकारसँग आग्रह गर्दै आइरहेको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी थिइन्।
शुक्रबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तीनै जना नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
उनले तीन दलका शीर्ष नेतालाई उनीहरूको निवासमै गएका थिए। त्यस क्रममा तीन वटै शीर्ष नेताले चुनावको विरोधी होइनौं भनेको उनले बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टीको प्राथमिकता चाहिँ निर्वाचन नै भएको बताएको मन्त्री खरेलले भने।
‘नेपाली कांग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन भनेर स्पष्ट रूपमा उहाँले मसँगको कुराकानीमा बताउनु भएको छ। निर्वाचनको वातावरण बनाउनका लागि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ। सुरक्षाको वातावरण बनाउनुपर्यो भन्ने चासो उहाँको रहेको छ। कांग्रेसको तर्फबाट निर्वाचन गर्नका लागि गर्नुपर्ने सम्पूर्ण सहयोग नेपाली कांग्रेसले गर्छ भन्ने कुरा उहाँको रहेको छ,’ उनले भने।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको सन्दर्भमा केही सुरक्षाको चासो राखेको उनले बताए।
‘सुरक्षाको प्रत्याभूति, निर्भयताका साथ चुनावमा भाग लिने भोट हाल्ने र राजनीतिक दलहरूले भाग लिने वातावरण बनाउनुपर्छ, त्यो अझै बनिनसकेको हो कि अझै बढी सरकारले मिहिनेत गर्नुपर्छ भन्ने उहाँहरूको रहेको छ,’ उनले भने, ‘सिद्धान्ततः नेकपा एमाले जनमतलाई मान्ने पार्टी हो, लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो। निर्वाचनबाटै फ्रेस म्यान्डेट लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा द्विविधा छैन।
त्यसमा नेकपा एमाले त्यो लाइनमा स्पष्टरूपमा छ। तर अहिले व्यवहारिक रूपमा सुरक्षाको हिसाबले चुनाव गराउन सक्ने अवस्था छ कि छैन भनेर उहाँहरूले चासो राख्नुभएको छ। सुरक्षाको वातावरण बनाउनुपर्यो, चुनावको वातावरण बनाउनुपर्यो भन्ने उहाँहरूको कुरा रहेको छ।’
नेपाली कम्युनिस्ट पार्टीका संयोजकका प्रचण्डले निर्वाचनको विकल्प नभएकाले जसरी पनि निर्वाचनमा जानुपर्ने बताएको मन्त्री खरेलले बताए।
‘फागुन २१ मै निर्वाचन हुनुपर्छ भन्ने नेपाली कम्युनिस्ट पार्टीको स्पष्ट धारणा रहेको उहाँले दोहोर्याउनुभएको छ। निर्वाचनका लागि सरकारलाई सहयोग गर्ने, प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो,’ उनले भने।