उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले देशलाई सही दिशा दिन सक्ने नेतृत्वलाई मतदान गर्न आग्रह गरेका छन्।
पोखरा औद्योगिक क्षेत्र उद्योग संघको २३ औं रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री सिन्हाले देशलाई अहिलेको हालतमा पुर्याउने नेतृत्वलाई मतदान गर्दा हात काप्नुपर्ने बताएका हुन्।
दूरदृष्टि राखेको नेतृत्व चाहिने भन्दै उनले त्यस्तो नेतृत्व भएमा उद्योग चलाउन सहज वातावरण मिल्ने बताए।
‘जसले देशलाई यो हालतमा पुर्याए, उसलाई भोट दिन तपाईंहरूको हात काप्नै पर्छ,’ उनले भने, ‘तपाईंहरू नेतृत्व राम्रो पठाउनुस्। राजनीति गर्ने मात्र होइन, उद्योग चलाउन सहज वातावरण बनाइदिन सक्छ। त्यो दूरदृष्टि राखेको नेतृत्व चाहियो।’
निर्वाचनपछि देश राजनीतिक वातावरणमा जाने भन्दै उनले अबको चुनावबाट राम्रो मान्छे आउनुपर्ने बताए।
अर्को प्रसंगमा मन्त्री सिन्हाले जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणबाट पाठ सिक्दै सरकारले सुरक्षा योजनाका लागि पहल भएको बताए।
उनले सानो योजना सम्पन्न गर्न पनि प्रक्रियागत झन्झट हुने गरेको बताउँदै ती झन्झट हटाउन र सरलीकरणका लागि सरकारले फेसलेस ट्रान्ज्याक्सनका उपाय अपनाउन सुरू गरेको बताए।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले नीति नियमहरु समय सापेक्ष हुन नसक्दा प्रक्रियागत झन्झट व्यहोर्नुपरेको बताए।
अस्थिर सरकार, झन्झटिलो नीतिका कारण प्रदेश सरकारले नतिजामुखी काम गर्न नसकेको उनको भनाइ छ।