अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ताको पूर्वसन्ध्यामा रूसले युक्रेनमाथि भीषण हमला गरेको छ।
युक्रेनको राजधानी किभ लगायतका क्षेत्रमा शनिबार सयौं ड्रोन र दर्जनौं मिसाइलले रूसले हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रातभरि भएको आक्रमणमा ५ सय वटा ड्रोन र ४० वटा मिसाइल प्रयोग भएको बताएका छन्।
आक्रमणका कारण किभका केही भागमा बिजुली आपूर्ति ठप्प भएको छ।
किभ र वरपरका क्षेत्रमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित ४६ जना घाइते भएका छन्।
तापक्रम माइनसमा झरेको अवस्थामा बिजुली आपूर्ति ठप्प हुँदा किभ लगायतका क्षेत्रमा जनजीवन प्रभावित भएको रोयटर्सले लेखेको छ।
यसैबीच मस्कोको प्रतिरक्षा प्रणालीले युक्रेनबाट हानिएका ८ वटा ड्रोन खसालेको भनेर मेयर सेर्गेई सोब्यानिनले बताएका छन्।
रूसले मस्कोको परमाणु उर्जा भण्डारहरूलाई लक्ष्य गरेर हमला गरिरहेको छ। त्यसले राजधानी किभमा आपतकालीन विद्युत कटौती लागू गरिएको छ।
युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटिइकेले किभ र आसपासका क्षेत्रमा १० लाखभन्दा बढी घरधुरी विद्युतविहीन भएको जनाएको छ।
शनिबार दिउँसोसम्म ७ लाख ५० हजार घरमा अझै पनि बिजुली आपूर्ति पुनःस्थापना हुन सकेको छैन। उपप्रधानमन्त्री ओलेक्सीय कुलेबाका अनुसार किभका ४० प्रतिशतभन्दा बढी आवासीय भवनमा ताप सेवा अवरुद्ध भएको छ।
रूस-युक्रेन शान्ति योजनामा निर्णायक छलफलका लागि जेलेन्स्की आइतबार वाशिङ्टन डिसी जाँदै छन्।
ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरमार्फत युक्रेनी अधिकारीहरूसँग छलफल गरी २० बुँदे शान्ति योजना तयार पारेका थिए।
त्यसमा युक्रेनले लगभग सहमति जनाएको छ।
जमिन र सुरक्षा ग्यारेन्टीबारे ट्रम्पसँगै छलफल गरेर मात्रै निर्णय गर्ने भन्दै जेलेन्स्की वाशिङ्टन प्रस्थान गरेका छन्।
ट्रम्पसँग भेट गर्न फ्लोरिडा जाने क्रममा जेलेन्स्की क्यानडाको ह्यालिफ्याक्स पुगेर प्रधानमन्त्री मार्क कार्नीलाई भेटेका थिए।
भेटपछि कार्नीले शान्तिका लागि रुसको इच्छाशक्ति आवश्यक रहेको बताउँदै युक्रेनलाई थप २.५ अर्ब क्यानेडियन डलर आर्थिक सहायता घोषणा गरेका छन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डर लायनले पनि युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउने खालको दिगो शान्तिका लागि सबै प्रयास स्वागतयोग्य रहेको बताएकी छन्।
शान्ति वार्तामा भू–भागको नियन्त्रण र रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा केन्द्र मुख्य अवरोधका रूपमा देखिएका छन्। जेलेन्स्कीका अनुसार अमेरिकी पहलमा तयार पारिएको २० बुँदे शान्ति प्रारूप करिब ९० प्रतिशत पूरा भइसकेको छ।
उनले सुरक्षा प्रत्याभूति कस्तो हुने भन्ने कुरा ट्रम्पको निर्णयमा निर्भर रहने बताए।