राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भावी प्रधानमन्त्री र दोस्रो वरीयताको नेता हुन सहमति गरेसँगै आसन्न निर्वाचनका लागि उम्मेदवारीमा उनले कति हिस्सा माग्छन् भन्ने चर्चा सुरू भएको छ।
रास्वपाका नेता शिशिर खनालका अनुसार पार्टी तथा चुनावका लागि हुने उम्मेदवारीमा बालेन पक्षको कति प्रतिशत हिस्सेदारी हुनेबारे अहिले कुनै सहमति भएको छैन।
फागुन २१ मा हुने प्रतिनिधिसभाका लागि निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने म्याद भोलिसम्म मात्र बाँकी छ।त्यसो भए, अब कसरी उनीहरूले उम्मेदवार छान्छन् त?
दुवै जना बसेर समानुपातिकका लागि सूची तयार गर्ने उनले बताए।
‘आफ्नो आफ्नो सूची बनाउनुहुन्छ। दुवैजना बसेर आफ्ना आफ्ना सूचीमा छलफल गर्नुहुन्छ। दुवैको सहमतिमा सूची तयार हुन्छ,’ उनले भने,‘अहिले यो विषय खुला राखिएको पनि त्यही भएर हो।’
प्रत्यक्ष निर्वाचनका लागि भने रास्वपाले पार्टीभित्र चुनाव गराएर उम्मेदवार चयन गर्छ। त्यसका लागि बालेन पक्षका उम्मेदवारहरूले पनि प्रतिस्पर्धामा भाग लिनुपर्ने हुन्छ।
शनिबार राति भएको सम्झौतामा एकता पश्चात् योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर अनुभवी विज्ञहरूलाई समावेश गर्दै संगठनात्मक संरचना थप गर्ने अनि निर्वाचन आयोगमा दस्तावेज अद्यावधिक गर्ने उल्लेख छ।