सर्वोच्च अदालतमा आज बृहत् पूर्ण इजलास बस्न पेसी तोकिएको छ।
सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित १९ जना न्यायाधीशहरू बस्ने गरी इजलास तोकिएको हो। यसरी सबै न्यायाधीश हुने गरी तोकिनेलाई बृहत् पूर्ण इजलास भनिन्छ।
सर्वोच्च अदालतका शाखा अधिकृत वालाजीप्रसाद पाण्डेयले शुक्रबार पेस गरेको प्रतिवेदनको निकासाका लागि आइतबार पेसी तोकिएको बताए।
सर्वोच्चको वेबसाइटमा पनि आवश्यक निकासा सम्बन्धमा भनिएको छ।
पाण्डेयका अनुसार भदौ २४ गतेको घटनापछि सिर्जना भएका अवरोध फुकाउनका लागि पेसी तोकेको हो।
‘भदौ २४ गते अदालतमा आगजनी भएपछि हाम्रो सेवा स्थगित भएको थियो। सेवा स्थगित हुँदा कतिपयका म्याद र तारेख गुज्रने अवस्था पनि थियो। त्यसको बाधा फुकाउनका लागि प्रतिवेदन पेस भएको हो,’ पाण्डेयले भने।
त्यस्तै सर्वोच्चले आगजनी भएका मिसिल प्राप्त गरिरहेको छ। यस विषयमा पनि म्याद थाम्ने समय अपुग हुने भएकाले त्यसका लागि इजलासमा पेस भएको हो।
आगलागी भएका दिनमा चालु अवस्थामा २४ हजार २ सय ३४ वटा मिसिल थियो। जसमध्ये २० हजार ३४ वटा मिसिल पूर्ण क्षति भएको थियो।
आगलागीबाट ४ हजार २ सय मिसिल भने जोगिएका थिए। जसमध्ये २ हजार ५ सय ९ वटा रिटका मिसिल छन् भने १ हजार ६ सय ९१ मुद्दा छन्। त्यस्तै सर्वोच्च अदालतको अभिलेखमा रहेका १ लाख ९७ हजार मिसिल पनि नष्ट भएका छन्।
सर्वोच्चले यसरी नष्ट भएका मिसिल प्राप्ति गर्नका लागि सूचना जारी गरेको थियो। त्यसका लागि सर्वोच्चले निर्देशिका समेत बनाएको छ। कात्तिक २० गते बसेको पूर्ण बैठकको निर्णय अनुसार भदौ २४ गतेदेखि कात्तिक ३० गतेसम्मको हदम्याद, म्याद र तारेखको अवधिलाई गणन नगर्ने भनेको थियो। मंसिर १ गतेदेखि ३० दिनसम्म हदम्याद, म्याद र तारेख थाम्ने भनिएको थियो।