नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिनसके नेपाली कांग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेस सुध्रिन नसके चारैतिर चुनौति नै चुनौति रहेको टिप्पणी गरे।
उनले सुध्रिएर जनतामाझ जानसके तल्लो स्तरसम्म संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताए।
‘हामी सुध्रिएनौं भने त चारैतिर चुनौती नै चुनौती छ। हामी सुध्रियौं भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुराहरुलाई अब सुधार गर्छौं भनेर जाँदा जुनसुकै शक्ति आएपनि कांग्रेसले कसैको वैशाखी टेकेर हिँड्नुपर्दैन । कांग्रेस आफैं लोकतन्त्रको संरक्षक, संवाहक हो,’ उनले भने।
कांग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक भएको जिकिर गरे।
कांग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने भए पनि केही समय सर्नसक्ने अवस्था रहेको बताए।
उनले क्रियाशिल सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्ने बताए। छिटो महाधिवेशन गर्न आफ्नो जोडबल रहने बताउनु भयो ।
‘पुस महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो। क्रियाशील सदस्यताका कारण केही समय हेरफेर हुँदैछ भन्ने बुझिएको छ। क्रियाशिल सदस्यहरु दुई दिनभित्रमा सम्पन्न गरेर जिल्लामा पठाए वडा तहबाट महाधिवेशन सम्पन्न हुनेछ। त्यसमा मेरो जोडबल रहन्छ । बदलिँदो परिस्थितिमा बदलिँदो ढंगबाट हामी अघि बढ्नुपर्छ । मेरो पार्टीले पनि त्यो किसिमको निर्णय लेला भन्ने विश्वास छ,’ उनले भने।
नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने बताए।–न्युज एजेन्सी नेपाल