नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन शाहबीच एक भएर अघि बढ्ने सहमतिमा हस्ताक्षर भएको विषयले खासै प्रभाव नपार्ने टिप्पणी गरेका छन्।
आज केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले रवि र बालेन दागरहित नरहेको बताएका हुन्।
‘यसबाट खासै प्रभाव पर्ने मैले देखेको छैन। उहाँहरू दागरहित र प्रश्न नभएका व्यक्ति होइन,’ महतले भने, ‘सबैको बारेमा धेरै ठूलो प्रश्न उठेको छ, जनताले मूल्याङ्कन गरिरहेका छन्।’
उनले शासन चलाउन स्पष्ट नीति, सिद्धान्त र अनुभव पनि चाहिने बताएका छन्।