काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको एकताबाट ऊर्जामन्त्री कुलमान घिसिङले एउटा महत्त्वपूर्ण कुरा मिस गरेका छन् — प्रधानमन्त्रीको 'अफर'।
रास्वपाले फागुन २१ को निर्वाचनमा बालेनलाई नै प्रधानमन्त्रीका रूपमा अघि सारेर जाने गरी एकता गर्ने अफर पहिले नै गरिसकेको थियो।
रास्वपा सभापति लामिछानेले गत सोमबार भएको पहिलो वार्तामै बालेनलाई यस्तो अफर गरेका थिए। तर प्रधानमन्त्री बनाउनेबारे ठोस रूपमा प्रस्ताव अघि नसारिएको भन्दै बालेन पक्षले स्वीकार गरेको थिएन।
यसबीच बालेनले उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका ऊर्जामन्त्री कुलमानसँग राजनीतिक एकताको संवादलाई निरन्तरता दिइरहेका थिए।
बालेनले कुलमानसँग राजनीतिक संवाद सुरू गरेको रविलाई भेट्नुभन्दा अगाडि नै हो।
स्रोतका अनुसार बालेनले कुलमानसँगको वार्तामा आफू महानगरको मेयरका रूपमा कार्यकाल पूरा गर्ने बताएका थिए। साथै, नयाँ पार्टी खोलेर भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्न कुलमानलाई शुभकामना पनि दिएका थिए।
यही आधारमा बालेनले आफ्नो नेतृत्व स्वीकार गरेको कुलमानको बुझाइ थियो।
बालेन आफ्नै नेतृत्वमा राजनीतिमा आउनेबारे कुलमान ढुक्क रहेको उनी निकटहरू बताउँछन्। त्यही सुनिश्चितताले पनि कुलमानले मंसिर १४ गते 'देश बनाउने अभियानमा हामी सँगै छौं' भन्दै बालेनसँगको फोटो फेसबुकमार्फत सार्वजनिक गरेका थिए।
तर जब सहकारी ठगी प्रकरणमा जेलमा रहेका रवि लामिछाने धरौटीमा रिहा भए र मेयर बालेनलाई भेटेर प्रधानमन्त्रीको अफर गरे, तब पासा पल्टियो।
बालेनले आफूलाई आएको प्रधानमन्त्रीको अफरलाई सकारात्मक रूपमा लिए र कुलमानलाई तेस्रो वरीयतामा रहने गरी रास्वपासँग एकता प्रक्रियामा सामेल हुन आग्रह गरे। कुलमान यसमा सहमत भएनन्।
यहाँ एउटा रोचक कुरा के छ भने, रविले बालेनलाई प्रधानमन्त्री अफर गर्नुअघि कुलमानलाई पनि रास्वपा तर्फबाट प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए।
'हामीले कुलमानजीसँग कुरा गरिरहेका थियौं। तपाईंसँग प्रधानमन्त्रीको उम्मेदवार बन्ने र एउटै पार्टीबाट अघि बढ्ने कुरा हुनुभन्दा तीन साताअघि नै यो प्रस्ताव गरेका थियौं,' रविले शनिबार राति बालेनसँगको भेटवार्तामा भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, 'उहाँले मान्नुभएन।'
त्यति बेला कुलमानले रास्वपासँग मिलेर जानुभन्दा बालेनसँग एकता गर्दा पार्टी सभापति र प्रधानमन्त्री दुवै पद पाइने अवसर देखेको स्रोत बताउँछ।
कुलमानले अस्वीकार गरेपछि रवि त्यही अफर लिएर बालेनकहाँ पुगे, जसले यो सारा एकता प्रक्रियामा एक सय असी डिग्रीको टर्निङ ल्याइदियो।
बालेनले त्यसपछि कुलमानसँगका वार्तामा पनि आफू नै प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्ने एकसूत्रीय माग राख्न थाले।
उनले पाँच वर्षसम्म आफूलाई प्रधानमन्त्री चलाउन दिनुपर्ने माग गरे।
कुलमानले भने आफू सरकारमा वरिष्ठ मन्त्री भइसकेको, उज्यालो नेपाल पार्टीले एउटा संरचनागत स्वरूप ग्रहण गरिसकेको र उमेरका हिसाबले पनि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्नुपर्ने कुरा बालेनसँगको भेटमा बताएको स्रोतको भनाइ छ।
'कुलमानका यी तर्कसँग बालेन सहमत थिएनन्,' स्रोतले भन्यो।
यही असमझदारीबीच शनिबार कुलमानको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो, जसमा उनी आफैले रास्वपाको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका थिए।
'उहाँहरू प्रधानमन्त्री आफै बन्ने, सभापति आफै बन्ने, पार्टीको नियन्त्रण पनि आफैले लिने, यस्तोमा हामी त्यो पार्टीमा सामेल हुन किन जाने?' बैठकमा कुलमानको भनाइ उद्धृत गर्दै उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले भने।
त्यसपछि शनिबार राति ७ बजे सुरू भएको वार्तामा पनि कुलमानले यही कुरा बालेनसँग भनेका थिए। बालेनले भने आफू नै पाँच वर्ष प्रधानमन्त्री बन्ने बताएको कुलमान निकट स्रोतको दाबी छ।
'मेयर बालेनले म पाँच वर्ष प्रधानमन्त्री हुन्छु भन्नुभयो,' स्रोतले भन्यो, 'उहाँले मिलेर जाऔं भन्नुभयो तर उहाँले कुनै ठोस प्रस्ताव गर्नुभएन।'
बालेनसँग कुरा नमिलेपछि कुलमान उठेर हिँडे। त्यसपछि बालेनले रविलाई वार्तामा डाके र आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढाउने गरी सहमति गर्न निर्णायक वार्तामा बसे।
त्यही निर्णायक वार्ताले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सातबुँदे सम्झौताको खाका कोरेको हो।
बालेनले रास्वपाबाट आएको प्रधानमन्त्री अफर स्वीकार गरे पनि कुलमानलाई समेत समेटेर अघि बढ्न शनिबार रातिसम्म रविलाई आग्रह गरेका थिए। स्रोतका अनुसार उनले रविलाई भनेका थिए, 'कुलमानजीलाई समेटैर लैजानुपर्छ। उहाँ त्यति बेलाभन्दा लचिलो हुनुभएको छ। सहसभापति दिँदा मान्न सक्नुहुन्छ।'
तर रविले उनलाई सहसभापति पनि दिन नसकिने बताए।
'सहसभापति दिन सकिँदैन। पार्टीमा दुई जना उपसभापति पनि हुनुहुन्छ,' रविले बालेनलाई भने, 'दुई जना सभापति बनाउने र सहसभापति बनाएर जान सकिँदैन। तर उपसभापति बनाएर जान सकिन्छ।'
त्यसपछि रविले उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्लेलाई वार्तामा बोलाएका थिए। बालेनले पनि कुलमानलाई वार्तामा डाक्न फोन गरे। तर कुलमानसँग सम्पर्क नभएको स्रोतले बतायो।
कुलमानले फोन नउठाएपछि बालेनले अहिले सहमति गरेर अघि बढ्ने र कुलमानसँग पछि यसबारे कुरा गर्ने बताए।
बालेन नै कुलमानलाई नकुरी सहमति गर्न तयार भएपछि आइतबार बिहान झिसमिसेमै सातबुँदे सहमतिमा हस्ताक्षर भयो।
रवि, बालेन र कुलमानबीच पछिल्लो दुई सातामा 'म्याराथन' शैलीमा अघि बढेको राजनीतिक सहकार्यको सहमतिमा अन्तत: कुलमान छुटे।
उनी रवि र बालेनसँग एकता प्रक्रियाबाट मात्र बाहिरिएनन्, रास्वपाले राखेको प्रधानमन्त्रीको 'अफर' समेत मिस गरे।