निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ।
आयोगले स्वीकृत भएको आचारसंहिता माघको पहिलो साताबाट लागू गर्ने तयारी गरिरहेको छ।
आयोगले वेबसाइटमार्फत् स्वीकृत भएको आचारसंहिता सार्वजनिक गरेको छ।
सार्वजनिक भएको आचारसंहितामा पहिलोपटक तीन वटा नयाँ विषय समेटिएको छ।
पहिलो, निर्वाचन आयोगले एआईको दुरूपयोगलाई आचार संहिताको दायरामा ल्याएको छ। सामाजिक सञ्जालको प्रयोग सम्बन्धी व्यवस्थामा एआई दुरूपयोगलाई समेटिएको हो। आयोगले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालको दायरा फराकिलो पारिएको उल्लेख छ।
दोस्रो, निर्वाचन सामग्री प्रयोगमा हरित सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। अर्थात् प्लास्टिकजन्य सामग्री प्रयोग गर्न नपाइने भएको छ।
तेस्रो, आचार संहितामा पहिलोपटक दलहरूले घोषणापत्र निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन प्रचारप्रसार गर्दा दलहरूले घोषणापत्र केन्द्रित भएर गर्नुपर्नेछ। त्यस्तै उम्मेदवारले छुट्टै घोषणापत्र पनि बनाउन पाउनेछन्। तर उम्मेदवारले पनि निर्वाचन अधिकृतको कार्यालयमा घोषणापत्र बुझाउनुपर्नेछ।
‘आचार संहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्नेगरी कसैको पक्ष वा विपक्षमा विचार राख, प्रचार-प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने साथै सामाजिक सञ्जालमा गलत र भ्रामक सूचना प्रवाह गर्न, गराउन वा झूटा साइट, एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुनुका अतिरिक्त कसैको चरित्र हत्या हुने गरी व्यक्तिगत लाञ्छना वा मानहानि हुने प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न, प्रकाशन वा प्रसारण गर्न निषेध गरिएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै राजनीतिक दल वा उम्मेदवारले आफ्नो निजी वा आधिकारिक पेजमा आफ्नो सिद्धान्त, विचार, प्रतिबद्धता र कार्ययोजना राखी प्रचार-प्रसार गर्न सकिने नै हुँदा सामाजिक सञ्जालको उपयोगलाई मर्यादित र व्यवस्थित ढंगले परिचालन गर्न आयोग आग्रह गर्दछ।’
आचार संहिताले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला जस्ता साङ्केतिक सामग्री लगाउन वा बोक्न नहुने व्यवस्था गरेको छ।
राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचार-प्रसारको सिलसिलामा जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा यस्तै प्रकृतिका प्रचार-प्रसारसम्बन्धी कार्यक्रम गर्दा तथा निर्वाचन अधिकृतको अनुमति लिई सवारी साधन प्रयोग गर्दा सोही बमोजिमको आकार र संख्याको मात्र प्रयोग गर्नुपर्नेछ।
आयोगले आचारसंहिता उल्लंघनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानूनतः जरिवाना वा दण्ड सजायलाई कार्यान्वयन गर्ने तथा उम्मेदवारको उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ।