नेपाली कम्यनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनमा जानसक्ने चेतावनी दिए।
उनले सबै राजनीतिक दलहरू पनि निर्वाचनमार्फत् नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर निर्वाचनमा लागेको बताए।
सबैको सामूहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो कि भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी निर्वाह गर्न सकिने उल्लेख गरे।
उनले भने, ‘देशलाई निकास दिने सबभन्दा राम्रो विकल्प निर्वाचन नै हो। अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न पनि सक्छ भन्ने पहिलो पार्टी र नेतृत्वको हैसियतले आज हामी निर्वाचन प्रक्रियामा बन्दसूची प्रस्तुत गर्दैछौँ। सबै राजनीतिक दलहरू पनि विभिन्न उत्तारचढाव हुँदै निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर सबै सहभागी हुने जो वातावरण बनेको छ, म सबैलाई धन्यवाद भन्न चाहन्छु। सबैको सामूहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो कि भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी हामी सबैको एकतामा छ।’
संयोजक दाहालले नयाँ युवाहरूले राजनीतिप्रति रूचि बढ्दै जानु सकारात्मक पक्ष भएको बताए। शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाबाट देशलाई निकास दिनुपर्ने बताए। –न्युज एजेन्सी नेपाल