नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूचीलाई अन्तिम रूप दिने काम गरिरहेको छ।
सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय बोर्डमा छलफल गरेर समानुपातिकतर्फ कलस्टरअनुसार सूची बनाउने काम भइरहेको नेताहरूले जनाएका छन्।
कांग्रेसमा १४ जना पदाधिकारी रहेकोमा अहिलेसम्म एक जना मात्रै समानुपातिकतर्फ बस्ने तय भएको छ।
एक पदाधिकारीका अनुसार सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्रै समानुपातिकतर्फ बस्न इच्छुक देखिएका छन्।
उनी २०७९ को चुनावमा पाँचथरमा प्रत्यक्षतर्फ उम्मेदवार थिए। तर ४७ मत अन्तरले चुनाव हारेका थिए।
सभापति शेरबहादुर देउवासहित कांग्रेसका अरू पदाधिकारी प्रत्यक्षतर्फ नै उठ्नेमा छन् भने सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र महामन्त्री विश्वप्रकाश शर्माले प्रत्यक्ष तथा समानुपातिक कतै पनि उम्मेदवार नहुने बताएका छन्।
महामन्त्री शर्माले आफू समानुपातिकमा बसे पार्टीका अर्का एक नेताको अवसर खोसिने भएकोले यसपालि प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम्मेदवार नहुने बरू पार्टीकै काममा सक्रिय रहने बताएका छन्।
महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन नभए उम्मेदवारी नदिने बताएका छन्। महाधिवेशनबिना चुनावमा गए त्यसबेला आफू परिवर्तनको झण्डा लिएर कार्यकर्ताको घरदैलोमा पुग्ने महामन्त्री थापाको भनाइ छ।
ती पदाधिकारीका अनुसार पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि समानुपातिकतर्फ सूचीमा छन्। उनी नुवाकोटबाट समानुपातिकतर्फ सिफारिसमा परेका थिए।
कांग्रेसले २०६४ देखि २०७९ सम्म पटक पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिक उम्मेदवार सूचीमै समावेश नगर्ने निर्णय गरेको छ। जसले गर्दा 'नयाँ अनुहार' ले अवसर पाउने नेताहरूले बताएका छन्।
कांग्रेसमा संस्थापन र संस्थापनइतर समूह छ।
सभापति देउवा पक्षले ६० प्रतिशत र नेता शेखर कोइराला पक्षले ४० प्रतिशत लिने गरी समानुपातिक उम्मेदवार सूची बनाउने तयारी छ। यसमा महामन्त्री गगन थापा पक्षले भने खासै चासो नदेखाएको ती नेताले जानकारी दिए।
‘संस्थापनलाई ६० र इतरलाई ४० भन्ने मोटामोटी हिसाब हो, यही हुनुपर्छ भन्ने छैन। भूगोल र कलस्टरलगायत हेरेर सूची तयार गरिँदैछ,’ ती नेताले भने।