भदौ २३ र २४ को जेनजी आन्दोलन बेला गृहमन्त्री रहेका रमेश लेखकमाथि गोली चलाउने आदेश दिएर निहत्था युवाको ज्यान लिएको आरोप छ।
पछिल्लो साढे तीन महिनादेखि यही आरोप खेप्दै आएका लेखकले सोमबार जाँचबुझ आयोगमा गएर बयान दिए।
तत्कालीन गृहमन्त्री लेखकले आफ्नो बयान क्रममा कुनै पनि प्रदर्शन हुँदा गृहमन्त्रीले बल प्रयोग गर्न लिखित र मौखिक आदेश दिने कानुनी व्यवस्था नै नभएको बताएका छन्।
'गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन। त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन। सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने विषयको न त कानुनी जिम्मेवारी छ, न यसबारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ। न त त्यस्तो कुनै आदेश नै दिइएको थियो।'
यस विषयमा सरकार प्रमुखसँग पनि परामर्श गर्नु उचित हुन्छ भनेर आफूले सुरक्षा समितिको बैठक गर्नुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय लिएको र सुरक्षा समितिको बैठक सकिनासाथ सिंहदरबारबाट सिधै बालुवाटार गएर ब्रिफिङ गरेको उनले बताएका छन्।
बालुवाटारबाट छुट्टिने बेला पनि प्रधानमन्त्री र आफूले सबै सुरक्षा निकायले समन्वयमा काम गरी सुरक्षाको राम्रो प्रबन्ध मिलाउनु भनेको उनले बयानमा उल्लेख गरेका छन्।
'सुरक्षाको राम्रो प्रवन्ध मिलाउनुहोला र क्याजल्टी नहोस भनेका थियौं,’ उनको बयानमा उल्लेख छ, ‘सबै सुरक्षा निकायका प्रमुख-प्रतिनिधि सोही अनुसार काम गर्ने भनी बिदा हुनु भएको हो। भदौ २३ गते बिहान पनि मैले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकलाई फोन गरी क्याजल्टी नहोस् है, ख्याल गर्नु होला भनेको थिएँ र त्यही कुरा गृह सचिवसँग पनि भएको थियो।
उनका अनुसार भदौ २३ गते बिहान माइतीघर मण्डलबाट प्रदर्शन सुरू हुँदा कयौं विद्यार्थी विद्यालयको पोसाकमै थिए।
'काठमाडौं जिल्ला प्रशासनबाट प्राप्त जानकारी अनुसार शान्तिपूर्ण प्रदर्शन हुन्छ भन्ने विश्वास आयोजकले दिलाएका थिए। तर प्रदर्शनमा व्यापक घुसपैठ भयो। जेनजीको प्रदर्शनलाई लोकतन्त्रविरोधी तत्वहरूले हाइज्याक गरे। संसद भवन, नयाँ बानेश्वर परिसरमा हिंसात्मक घटना भएपछि जेनजी अगुवाहरूले सामाजिक सञ्जालमार्फत सन्देश पठाए– 'हाम्रो आन्दोलन सफल भएको छ। यसलाई
हाइज्याक गरेर हिंसात्मक बनाइँदैछ। साथीहरू आ-आफ्नो घर फर्किनुस्।
'धमिलो पानीमा माछा मार्न चाहने तत्वले जेनजीको भावनामाथि खेलेर सुनियोजित रूपमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनायो। बानेश्वरमा प्रदर्शन उग्र एवं हिंसात्मक हुन थालेको जानकारी पाउना साथ मैले गृहमन्त्रीको हैसियतले सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री र नेपाली सेनाका प्रधान सेनापति समेतलाई जानकारी गराएको थिएँ,' उनले भने।