निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउन हिजो र आज समय दिएको थियो।
आज अपराह्न ४ बजेसम्म उम्मेदवार सूची पेस गर्न आयोगले दलहरूलाई समय दिएको थियो।
तर नेपाली कांग्रेससहित ठूला दलहरूले अहिलेसम्म उम्मेदवार पठाएका छैनन्। अहिलेसम्म ९ वटा दलले मात्रै उम्मेदवार सूची आयोगमा पुर्याएका छन्।
कांग्रेसले प्रदेशहरूमा सूची बनाएर समानुपातिक उम्मेदवार नामावली तयार गरेको छ। उक्त सूचीलाई संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिले पारित गरिसकेको प्रवक्ता प्रकाशशरण महतले बताए।
प्राविधिक पक्षहरू हेरेर आजै निर्वाचन आयोगमा सूची बढाउने महतको भनाइ छ।
यसैबीच आयोगले दिएको समयभित्रै समानुपातिक उम्मेदवार सूची पेस गर्न नसकिने भएपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासहित कांग्रेस नेताहरू निर्वाचन आयोग पुगेर निस्सा लिएका छन्।
उम्मेदवार सूची तयार हुँदै गरेको र आजै आयोगमा नामावली पेस गर्ने जानकारी उनीहरूले आयोगलाई दिएका हुन्।
प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार समानुपातिक उम्मेदवार सूची बनाउने काम भइरहेको छ र आजै पेस गरिन्छ।
कांग्रेसले यसपालि महाधिवेशनका लागि क्रियाशील सदस्यता बाँड्ने र नवीकरण गर्ने तथा प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट नामहरू सिफारिस मागेको थियो।
पार्टीका तल्ला क्षेत्रबाट मापदण्डभन्दा बढी उम्मेदवार सिफारिस हुँदा कांग्रेसलाई उम्मेदवार टुंग्याउन सकस परेको थियो।
पछिल्ला चार दिनदेखि कांग्रेसले सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर उम्मेदवारबारे छलफल गरेको थियो।
‘हामी ११० जनाकै नाम आयोगमा पेस गर्छौं, विगतको भन्दा यसपालि उम्मेदवारहरूसँग अलि धेरै विवरण माग गरिएको छ, यसपालि उम्मेदवारकै सम्पत्ति विवरण पनि मागेका छौं,’ विश्वकर्माले भने, ‘त्यसैले सम्बन्धित व्यक्तिलाई सम्पत्ति कहाँ छ, कसरी लेख्ने, कति विवरण लेख्नेजस्ता विभिन्न प्रक्रियागत रूपमा अन्यौल देखियो, त्यसैले ढिला भयो। हामीले आयोगमा आजै सूची लिएर आउँछौं भनेका छौं।’
उनका अनुसार पार्टीका तल्ला तहबाट उम्मेदवार नाम सिफारिस हुँदा धेरै जनाको नाम आएकोले पनि उम्मेदवार सूची बनाउन समय लागेको बताए।