नेपाली कम्युनिस्ट पार्टी नेकपा र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरणसम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएको छ।
सोमबार रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा र प्रचण्ड संयोजक रहेको नेकपाबीच पार्टी एकता गर्ने सहमति भएको हो।
एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिह्न तारा हुने सहमति भएको छ।
सहमति–पत्रमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा परिभाषित गर्दै विविधतामा एकतालाई राष्ट्रिय विशेषता भनिएको छ।
सहमति अनुसार दुवै पार्टीले विगतका कमजोरी सच्याउँदै सङ्घीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुनेछन्। साथै, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समिति लगायत सम्पूर्ण संरचना आपसी सहमतिमा नेकपामा समायोजन गरिने छ।
उक्त सहमतिमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।